सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण

संयुक्त अधिराज्य बेलायतका सांसद (हाउस अफ कमन्स) वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिला व्यवस्थितरूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन् ।

Advertisement

आज काठमाडौँमा सांसदको भूमिकालाई संसद्मा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सांसद चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताउनुभयो । सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारीरूपमा वहन गर्न सक्ने उहाँले बताउनुभयो । कुनै पनि सांसदको सचिवालयले बहन गर्ने भूमिका बृहत्तररूपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवश्यक रहेकामा उहाँको जोड थियो ।

“सांसद एक्लैले गरेर केही हुँदैन । सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ”, सांसद शर्माले भन्नुभयो, “बेलायती संसद्मा रहेर काम गरिरहँदा मेरो अनुभव पनि यही हो । मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस अफ कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन ।”

बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाउनुभयो । बेलायतमा सांसदलाई सरकारबाट चारजना कर्मचारीको व्यवस्था हुने गरेको उहाँले बताउनुभयो । “उनीहरूको जिम्मेवारी पनि तोकिएको हुन्छ । टोलीमा सबैले आफ्नो जिम्मेवारीअनुसार काम गर्छन्”, उहाँले भन्नुभयो, “काममा दोहोरोपन हुनुभएन । टीमवर्कमा विश्वास हुनुपर्छ ।”

Advertisement

कांग्रेस सांसद चौधरीले निर्वाचन क्षेत्रका विषय सम्बोधनदेखि राष्ट्रिय मुद्दामा संसद्मा प्रभावकारीरूपमा उठाउन राजनीतिक टोलीको आवश्यकता औँल्याउनुभयो । “हामीले निर्वाचन क्षेत्रका मुद्दाहरूमा पनि काम गर्नुपर्छ । त्यस्तै, राष्ट्रिय विषय उठाउनुपर्छ । त्यसका लागि छुट्टै राजनीतिक सचिवालय स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो । बेलायतका सांसदको राजनीतिक सचिवालयको अनुभवले आफूहरूलाई पनि लाभ हुने सांसद चौधरीको विश्वास थियो ।

कांग्रेस सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी–१ बर्दघाटमा जनसम्पर्क सचिवालय स्थापना गर्नुभएको छ भने काठमाडौँमा राजनीतिक सचिवालय बनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री