बिहीबार, ६ वैशाख २०८१

पशुपतिनाथ महोत्सवको तयारी पुरा ,यस्ता आकर्षकहरु हुने

समयपोष्ट २०७४ फागुन २९ गते ८:२६

पशुपतिनाथ महोत्सवको तयारी पूरा भएकोे छ ।

Advertisement

वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो ।

यही फागुन ३० देखि चैत ७ गतेसम्म महोत्सव आयोजना हुँदैछ । धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त महोत्सवबाट धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

पशुपतिनाथ क्षेत्रमा परम्परादेखि मनाउँदै आएको स्थानीय जात्रा दुरुच्याःच्याको शुभारम्भ फागुन २६ गतेदेखि भएसँगै उत्साह बढेको छ । अगामी चैत ७ गतेसम्म स्थानीय पाँचहरे जात्रा एवं देशोद्धार पूजालगायत जात्रा पर्व आयोजना हुने भएकाले सो महोत्सवलाई थप आकर्षक बनाइने संयोजक केदारमान भण्डारीले बताउनुभयो ।

महोत्सवका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । महोत्सवमा धार्मिक गोष्ठी प्रवचनका अतिरिक्त तस्वीर, वृत्तचित्र प्रदर्शनी, नेवारी तथा अन्य परिकार, कला संस्कृति प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने छ ।

उक्त महोत्सवमा श्रीमद् भागवत कथा, पाहाँचह्रे जात्रालगायतको अवलोकन, संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, नेपाल र भारतका वरिष्ठ कलाकारद्वारा शास्त्रीय तथा भक्तिसंगीतसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

निःशुल्क ध्यान तथा योग शिविर, अन्तरविद्यालय शास्त्रीय नृत्य तथा भक्ति संगीत प्रतियोगिता, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, खाना महोत्सव, पशुपति तथा जात्रा सम्बन्धी वृत्तचित्र र विशिष्ट धार्मिक गुरुद्वारा वैदिक प्रवचन, धर्मध्वज तथा राष्ट्रिय झण्डाको विशाल रुपको दर्शन, शिवपार्वतीको ताण्डवसहित मूर्तिको दर्शनलगायत कार्यक्रम गरिनेछ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री