बैंकहरूले दिनै छाडे नयाँ कर्जा

बैंकहरूले थप नयाँ कर्जा दिनै छाडेका छन्। लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि बैंकहरूले नयाँ कर्जा दिन छोडेका हुन्। कर्जा दिने रकम बैंंकसँंग नै अभाव भएपछि व्यवसायीले पनि कर्जा पाउन छोडेका छन्। तरलता अभावका कारण पुराना कर्जासमेत दिन हम्मे परिरहेको बैंकरहरू बताउँछन्। चालू आवको ८ महिना बितिसक्दा पनि २–३ वटा बाहेक वाणिज्य बैंकमा तरलता अभाव यथावत् नै छ। तरलताको यो समस्या साउनसम्मै लम्बिने बैंकरहरूको अनुमान छ।

Advertisement

२७ वटा वाणिज्य बैंकको सीडी रेसियो औसतमा ९०.९९ प्रतिशत पुगिसकेको छ। सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलका अनुसार बैंकहरूको निक्षेप संकलन पहिलाजस्तो हुन सकेको छैन। निक्षेपमा धेरै तलमाथि भइरहेकाले पनि कर्जा बढाउने स्थिति नभएको पोखरेल बताउँछन्। ‘१–२ वटाबाहेक सबै बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ। सिभिलको पनि ९० हाराहारीमा छ,’ उनले अन्नपूर्णसँग भने, ‘निक्षेप नबढ्ने भएपछि नयाँ कर्जा दिनै छाडियो।’ कुनै पनि बैंकले अहिले आयातका लागि प्रतीत पत्र (एलसी) भुक्तानी, प्रोजेक्ट फाइनान्सिङ गरिसकेका बाहेक अरू कर्जा बढाउन सक्ने अवस्था नरहेको उनले बताए। ‘चैत्रमा नै गाह्रो भइसक्यो। वैशाखमा हुने चुनाव खर्च र सरकारी खर्च बढे केही सहज होला। तर, निक्षेपमा खासै वृद्धि हँुदैन,’ सीईओ पोखरेल भन्छन्, ‘साउनदेखि झन चुनौती छ।’

राष्ट्र बैंकले असारपछि सीडी ९० प्रतिशतको सिलिङ नघाउन नमिल्ने भनेको छ। अहिलेसम्म डिभेन्चरलाई निक्षेपमा गणना गर्न दिएको छ। यसमा रहेको करिब ६० अर्ब रुपैयाँ निक्षेपमा गणना गर्न पाइँदैन। यस्तै, अहिले स्थानीय तहमा गएको रकम ८० प्रतिशतसम्म निक्षेपमा चलाउन पाएका छन्। यो पनि असारपछि ५० प्रतिशतमात्रै चलाउन पाउनेछन्। ‘अहिले सीडी ९०–९२ प्रतिशत भएका बैंकहरू प्नि ८८ प्रतिशतमा मात्रै बस्नुपर्ने हुन्छ। यसकारण साउनमा पनि खासै निक्षेप बढ्ला र कर्जा दिन पाइएला भन्ने लाग्दैन,’ उनले भने।

फागुन मसान्तसम्म १ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ निक्षेप बढाउँदा कर्जा वृद्धि भने ४ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। ४३ खर्ब ३२ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन भएको छ। यस्तै, सो दरले कर्जावृद्धि हुँदा ८ महिनामा कुल कर्जा ४१ खर्ब ७१ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

बंैंकिङ क्षेत्रमा कोभिडपछि नियमन खुकुलो बनाएर कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजनिङ) गरेपछि झन् तरलता अभाव बढेको एसियाली विकास बैंक (एडीबी)का सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटा बताउँछन्। तरलताको चाप अझै बढ्ने संकेत देखिएको उनको भनाइ छ। ‘बैंकिङ क्षेत्रमा कोभिडपछि नियमन खुकुलो बनाएर कर्जा बढी गयो। विभिन्न पुनर्कर्जा, व्यवसाय निरन्तर कर्जालाई घरजग्गा र सेयरमा लगानी गरे,’ उनले भने, ‘त्यो क्षेत्रको पैसा बढ्यो तर निष्क्रिय कर्जा पनि बढ्दै गयो र तरलतामा दबाब पर्यो। यो समस्या लामो समयसम्म जाने देखिन्छ।’ अन्नपूर्ण पोष्ट् दैनिकमा यो समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री