शनिबार, १५ वैशाख २०८१

लगानीको दायरा वृद्धि सुरक्षण र प्रतिफलमा निर्भर हुन्छ

समयपोष्ट २०७७ फागुन १८ गते ११:५६

Advertisement

जीवन बीमा क्षेत्रमा कोभिड–१९ ले कस्तो प्रभाव पार्यो ?
जीवन बीमा व्यवसायको प्रवद्र्धन वितरण प्रक्रियासम्बन्धी विषय भएको र कोभिड–१९ को कारणबाट सिर्जित सामाजिक दूरी कायम गर्नुपर्ने, स्वास्थ्य सङ्कट अवस्था, बन्दाबन्दीको अवस्था र सम्पूर्ण आर्थिक गतिविधिमा भएको बदलावजस्ता कारणले जीवन बीमा उद्योग पनि समस्यामा पर्नु स्वभाविक छ । मूलतः तुलनात्मकरुपमा व्यवसाय प्राप्त नहुनु, नवीकरण हुन नसक्नु तथा लगानीबाट प्राप्त हुने प्रतिफल घट्नु जस्ता कारणले यस उद्योगमा उल्लेख्यरुपमा प्रभाव पारेको छ । यसरी परेको प्रभावलाई व्यवस्थापन गरी अघि बढ्ने प्रक्रियामा समग्र जीवन बीमा उद्योग सचेत रहँदै क्रियाशील छ ।

कोभिड–१९ ले अन्य क्षेत्रजस्तै बीमा क्षेत्रलाई पनि नयाँ ढङ्गले अघि बढ्न सिकायो । बीमा क्षेत्रका लागि यो अवसर बन्यो कि चुनौती ?
बीमा उद्योग वित्तीय मध्यस्थता सेवा प्रवाह गर्ने उद्योग भएकोले, यसमा पनि जीवन बीमा सेवा नितान्त व्यक्ति तथा परिवारसमक्ष जोखिम सुरक्षणमार्फत् प्रवाह गर्ने उद्योग भएको हुँदा कोभिड–१९को परिणामस्वरुप उत्पन्न विशेष अवस्थामा परिमार्जित नियामकीय निर्देशनअनुरुप अघि बढिरहेको छ । बीमा उद्योग व्यवस्थित एवम् नियमित प्रकृतिको भएकोले व्यक्तिविशेष वा कम्पनीको रणनीतिमात्र सर्वमान्य हुँदैन । समस्या सँगसँगै समाधानका उपाय पनि रहन्छन् । मौजुदा समस्याको सामना गर्दै अघि बढ्ने क्रममा विभिन्न किसिमका अवसर सिर्जना हुन्छन् । तर, त्यस्ता अवसर सरल, सर्वस्वीकृत वा दीर्घकालीन हुन्छन्हुँ/दैनन् भनेर हेर्नुपर्छ ।

यहाँले देखेका जीवन बीमा कम्पनीका मुख्य जोखिम के–के हुन् ?
बीमा व्यवसाय भनेको जोखिम सुरक्षण गर्ने व्यवसाय हो । बीमा कम्पनीहरुले ठूलो मात्रामा आर्थिक दायित्व बहन गरेका हुन्छन् । त्यसमा अतिरिक्त बीमा व्यवसाय गर्न कम्पनी सङ्गठित संस्था भएकोले व्यवसायसम्बन्धी जोखिमका अलावा अन्य व्यावसायिक संस्थासरह विभिन्न प्रकृतिका जोखिम रहन्छन् । यस्ता जोखिमहरु पूर्णरुपले व्यवस्थापन गरेर उद्योग अघि बढेको छ ।

नेपालमा धेरैवटा प्रतिस्पर्धी बीमा कम्पनीहरु छन् । सन नेपाल लाइफमा किन जीवन बीमा गर्ने ?
खुला प्रतिस्पर्धा र प्रतिस्पर्धात्मक वातावरण भनेकै बजारमा धेरै सेवा प्रदायक रहन सक्छन् भनेर तय गरिने व्यावसायिक वातावरण हो । यस प्रकृतिको वातावरणमा सेवाको गुणस्तर कायम रहन्छ भन्ने विश्वास गर्नुपर्ने हुन्छ । जीवन बीमा व्यवस्थित जीवन पद्घति अपनाउन चाहनेका लागि अपरिहार्य छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमाको आवश्यकता बोध गराई पारदर्शिता कायम राखी सेवा प्रवाह गर्दछ र तपाईंले आफूमा सोही विश्वास सिर्जना गरी ढुक्कसँग बीमा गर्न सक्नुहुन्छ ।

बीमाको पहुँच अभिवृद्धि गर्न सन नेपाल लाइफ इन्स्योरेन्सले के–कस्ता काम गरेको छ ?
वित्तीय सेवाअन्तर्गत सबैभन्दा तीव्र गतिमा पहुँच विस्तार गर्ने कुरामा आजको दिनमा जीवन बीमा उद्योग छ । बीमा पहुँच कुनै अमूक कम्पनी वा व्यक्तिको आधारमा पहुँचको वृद्घि हुने होइन । समग्र नीतिगत सुधार गरेर पहुँच विस्तार गर्न सकिन्छ भन्ने मान्यता राख्नुपर्दछ । आजको दिनमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि अन्य कम्पनीसरह आफ्नो शाखा–उपशाखाहरुमा अभिकर्तालाई क्रियाशील बनाउँदै अघि बढ्ने प्रक्रिया एव्म कोभिड–१९ को असरपछि प्रत्यक्ष सम्बन्ध गर्नुका अतिरिक्त अप्रत्यक्षरुपबाट वा भनौं प्रविधिको प्रयोगबाट पनि अघि बढ्न सकिन्छ भन्ने मान्यतामा क्रियाशील रहेको छ ।

सन नेपाल लाइफले आफ्ना अभिकर्तासँग कसरी सहकार्य गरिरहेको छ ?
जीवन बीमा अभिकर्ता बीमा कम्पनीका मेरुदण्ड हुन् । अभिकर्ताको क्रियाशीलताबिना कम्पनीको व्यवसाय प्राप्त हुने आधार शून्यप्रायः हुन्छ । यस अवस्थामा कम्पनीले अभिकर्तालाई उत्प्रेरणा गर्ने, समन्वय गर्ने क्रियाकलाप निरन्तर चलिरहनुपर्छ । अभिकर्ता बीमा कम्पनी र बीमितबीच मध्यस्थता गर्ने कार्यमा संलग्न रहन्छन् । एकप्रकारले भन्दा उनीहरु कम्पनीका मुखपत्र हुन् वा उनीहरुले कम्पनीको प्रतिनिधित्व गर्दछन् । यसर्थ, कम्पनीको व्यावसायिक नीति, बीमा योजना, बजार प्रतिस्पर्धा, अनुपालन व्यावसायिक प्रक्रिया एवम् व्यवसाय प्राप्तिपछि पनि कम्पनीले प्रवाह गर्ने बीमा सेवाका सम्बन्धमा अभिकर्तासँग निरन्तररुपमा सहकार्य अपरिहार्य छ । यिनै आधारमा सहकार्य अघि बढिरहेको छ ।

बीमा समितिले लगानी निर्देशिका ल्याए पनि किन लगानीमा विविधता आउन सकेको छैन ?
बीमा कम्पनीको कोष वा बीमा शुल्कबाट प्राप्त रकमलाई लगानी गर्ने सम्बन्धमा बीमा समितिबाट लगानी निर्देशिका जारी भएको छ । सोहीअनुरुप लगानी गर्ने मुख्य आधार वा लगानी क्षेत्र निर्दिष्ट छन् । सोही संरचना र सीमाभित्र रहेर लगानी व्यवस्थापन गरिएको छ । लगानीका अवसरहरु सीमित भएको वा भनौं बैङ्किङ कम्पनीमा निक्षेपको ठूलो मात्रा भएकोले प्राप्त हुने प्रतिफल तल–माथि हुन सक्छ । लगानी गर्दा लगानीको सुरक्षण महत्वपूर्ण हुन्छ । लगानीको दायरा वृद्घि गर्ने भन्ने विषय लगानीको सुरक्षण र प्रतिफल निर्भर हुन्छ । नीतिगत विषय भएको हुँदा दायरा फराकिलो भएमा लगानी केन्द्रिकृत हुँदैन र केन्द्रिकृत नहुँदा थप सुरक्षित हुन्छ भन्ने मान्यता भए पनि त्यस्तो वातावरण सिर्जना भइसकेको छैन । आशा गरौं, भविष्यमा लगानीको दायरा फराकिलो हुँदै जानेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री