बुधबार, ९ जेठ २०८१

नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन्

कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालको अन्तर्वार्ता

समयपोष्ट २०८१ वैशाख १३ गते १७:२८

Advertisement

कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । अरब मुलुकबाट राष्ट्र प्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिकरुपमा सम्पन्न मुलुकको अमिरबाट भएको नेपाल भ्रमणलाई ऐतिहासिक रुपमा अथ्र्याइएको छ । भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण सहमति एवं समझदारी पनि भएका छन् । कतारको अमिरको नेपाल भ्रमणको पर्दा पछाडि रहेर कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँ दुई वर्षदेखि कतारका लागि नेपाली राजदूतका रुपमा क्रियाशील हुनुहुन्छ । कतारका अमिरको नेपाल भ्रमण, भ्रमणका उपलब्धिलगायत विषयमा कतारका लागि नेपाली राजदूत ढकालसँग राष्ट्रिय समाचार समितिका समाचारदाताद्वय भीष्मराज ओझा र अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः

हालै कतारका राजाको नेपाल भ्रमण सम्पन्न भएको छ । कतारको अमिरको भ्रमण मध्यपूर्व एसियाबाटै हालसम्मको उच्चस्तरको हो । कतारका लागि नेपाली राजदूतका रुपमा यहाँले पर्दापछाडि के–के तयारी गर्नुभयो ?

प्रत्येक राजदूतले आफ्नो नियुक्तिको सिफारिसपछि संसदीय समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुपर्ने हुन्छ । मैले समितिमा प्रस्तुत गरेको कार्ययोजनामा १३ योजनामध्ये दोस्रो नम्बरमा कतारको अमिरको नेपाल भ्रमणको गराउँछु भन्ने थियो । तत्पश्चात कतारमा नेपाली राजदूतका हैसियतले मैले पदभार ग्रहण गरेँ । त्यसपछि कतारका अमिरसँग ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा उहाँसँग नेपाल भ्रमणको सन्दर्भ उठान गरेँ । त्यतिबेला उहाँले आफू फिफा विश्वकप २०२२ का कारण अत्यन्त व्यस्त रहेको र २०२३ मा उपयुक्त समय पारेर नेपाल भ्रमण गर्ने जवाफ दिनुभएको थियो । त्यसपछि म निकै नै उत्साही भएँ । दुई वर्षका अवधिमा मैले पाँच पटक कतारको अमिरसँग भेटवार्ता गर्ने अवसर पाएँ । कतारमा अमिरले २०२३ भित्र नेपालको भ्रमण गर्ने विषय प्रथम चरणको भेटमा नै आश्वासन दिनुभएको थियो । त्यसैअनुसार २०२३ को नोभेम्बर ६–७ मा अमिरले नेपाल भ्रमण गर्ने मिति तय भयो । विशेष कारणले निर्धारित मितिमा भ्रमण हुन नसके पनि त्यसको करिब छ महिनाभित्र यो भ्रमण सम्भव भयो ।

कतारका अमिरको नेपालको दुईदिने भ्रमण कति उपलब्धिपूर्ण रह्यो ?

Advertisement

अरब मुलुकबाट प्रायःजसो राष्ट्रप्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिक रुपमा सम्पन्न मुलुकको अमिरबाट नेपालको भ्रमण हुनु आफैँमा ऐतिहासिक विषय हो । यस भ्रमणबाट हामीले धेरै अपेक्षा पनि गरेका छौँ । यद्यपि, तत्काल हेर्दा केही समझदारीमा हस्ताक्षर भएको देख्दा कसैले कम आँकलन गर्न पनि सक्नुहोला । तर यसको ऐतिहासिक महत्व छ । यस भ्रमणले अन्य अरब मुलुकका राष्ट्र प्रमुखलाई नेपालमा भ्रमण गर्ने प्रेरणा प्रदान गरेको छ । हामीले नेपालसँग फरक ढङ्गले द्विपक्षीय सम्बन्ध विकसित गर्नुपर्छ भन्ने सन्देश दिएको छ । कतारमा रहेका नेपालीलाई अन्य मुलुकका नागरिकले हेर्ने दृष्टिकोणमा व्यापक प्रभाव परेको छ । अमिरले रुचाएको र भ्रमण गरेको मुलुक र त्यो देशका नागरिक भनेर नेपाली नागरिकलाई हेर्ने दृष्टिकोणका ठूलो परिवर्तन आउँछ । त्यसकारण अमिरको नेपाल भ्रमण महत्व आफैँमा शब्द, अङ्क, तथ्याङ्कमा विश्लेषण गरेर देखिने नभई आत्मसात गर्ने र यसको परिणाम तत्काल देखिने भएकाले मैले यसलाई अत्यन्त ठूलो महत्वका साथ हेरेको छु ।

कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच द्विपक्षीय भेटवार्तापछि नेपाल र कतारबीच विभिन्न आठ वटा सहमति र समझदारीमा हस्ताक्षर भएका छन् । यी समझदारी कति पूर्ण छन् ?

हाम्रा आवश्यकता अलग खालका थिए । आपसी समझदारीपत्रमा हस्ताक्षर हुँदा हाम्रो आवश्यकताभन्दा फरक भयो कि भन्ने महसुस सबै हुन सक्छ । यो स्वभाविक हो । सहमतिको बुँदा हेर्दा के देखाउँछ भनेर हे¥यो भने साँधुरो छ । भित्री कुरा के हो भनेर हेर्दा आठ वटा समझारीले व्यापक क्षेत्र ओगटेको छ । यसका कारण यो आफँैमा यसले व्यापकता ओगटेकोे छ । यसको परिणाम हेर्न हामीले व्यापक तयारी गर्नुपर्छ ।

द्विपक्षीय भेटवार्ताका क्रममा कतारका अमिर र प्रधानमन्त्रीबीच सहकार्यमा सहजीकरण गर्न संयुक्त कार्यदल बनाएर जाने सहमति भएको छ । उक्त कार्यदलले कहिलेसम्म मूर्त रुप लिन्छ र कुन कुन क्षेत्रमा काम गर्छ ?

भेटमा प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको उडान होस् भन्ने कुरा राख्नुभएको थियो । नेपालले पर्यटन, कृषि र ऊर्जालाई प्राथमिकता दिएको अवस्था छ । कतार राजा अमिरले पनि यही विषयमा सम्भवानाको खोजी र अनुसन्धान गरेर त्यसका आधारमा लगानी गर्नका लागि संयुक्त कार्यदल बनाएर अघि बढ्ने बताउनुभयो ।

कतारका अमिरको भ्रमण भर्खरै सम्पन्न भएको छ । म पनि केही समयमा कतार फर्किदैछु । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको बारेमा सकेसम्म छिटो काम थाल्नेछौँ । त्यसका लागि नेपाल आएको कतारी प्रतिनिधिसँग हामी चाँडै नै बैठक बस्नेछौँ । उच्चस्तरीय कार्यदल बनाउनका लागि मेरो प्रयत्न बलियो हुनेछ । तर यसमा मेरो प्रयत्न पर्याप्त समेत नहुन सक्छ । राजा अमिर स्वयंम्ले बोल्नुभएका कारण पनि यसले विशेष महत्व राख्छ । उक्त कार्यदलले कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा हाम्रो अपेक्षाअनुसार लगानी भित्राउनेमा विश्वस्त छु ।

नेपाल र कतारबीच लगानी सुरक्षासम्बन्धी सम्झौता भएको छैन । निजी क्षेत्रका लगानीकर्ताले आफ्नो लगानीको नाफा लैजान चाहन्छन् । त्यसका लागि पनि हामी गम्भीर रुपमा छलफल गर्छौँ । भर्खरै कतारी राजाको भ्रमण सकिएको छ । अब नेपालबाट पनि कतारमा उच्चस्तरीय भ्रमणको निरन्तरताका लागि प्रयत्न गरिरहन्छौँ । यसलाई टुङ्गोमा पु¥याएरै छाड्छौँ ।

नेपालले कतारसँगको श्रम सम्झौता पुनरावलोकन होस् भन्ने चाहेको थियो । तर यो विषय टुङ्गोमा पुग्न नसक्नुको कारण के होला ?

नेपाल र कतारबीच श्रम सम्झौता भएको १८ वर्षसम्म पुनरावलोकन भएको छैन । हाम्रो पनि जोड उक्त सम्झौतालाई समयानुकूल बनाउन परिमार्जन गर्नुपर्छ भन्ने नै थियो । पछिल्लो समय उक्त विषयलाई नेपाल र कतारका तर्फबाट विश्लेषण गर्दा हामीले के भन्यौँ भने कतारले घरेलु कामदारको माग गरिरहेको अवस्थामा घरेलु कामदार लैजाने विषयलाई पनि श्रम सम्झौतामा समेटेर जानुपर्छ । अन्य क्षेत्रका श्रमिक र घरेलु श्रमिकको कामको प्रकृति धेरै अन्तर छ । घरेलु श्रमिकले झण्डै १८ घन्टा काम गर्नुपर्छ । लामो समय काम गर्दा पारिश्रमिक पनि सोही अनुसार तोकिनुपर्छ । घरेलु श्रमिकको खाने, बस्ने तथा सुरक्षाको सवाललाई घरबाहिर काम गर्ने श्रमिकसँग तुलना गर्न मिल्दैन । नेपालका तर्फबाट घरेलु कामदारका विषयलाई हतारमा नगरी दीर्घकालीन समाधान खोजेर जानुपर्छ भनेर अडान छाडेका छैनौँ । उक्त सम्झौता पुरानो भइसक्यो । अहिलेको बजार मूल्य धेरै माथि भइसक्यो । श्रमिकको आधारभूत पारिश्रमिक परिमार्जन गर्नुपर्छ भन्ने विषय नेपालले राखिराखेको छ ।

कतारका तर्फबाट हेर्दा त्यहाँ नेपालको मात्रै नभई अन्य मुलुकको श्रमिक पनि ठूलो सङ्ख्यामा काम गरिरहेका छन् । कतारको श्रम कानुन निकै राम्रो छ । श्रम कानुनले कुनै पनि मुलुकका श्रमिकलाई कुनै विभेद् गरेको छैन । कतारमा आठ लाख बढी भारतीय, चार लाख बङ्गलादेशी, तीन लाख ५० हजार बढी नेपाली र त्यत्तिकै सङ्ख्या फिलिपिनी श्रमिक छन् । त्यसकारण कतारले नेपालसँग गरेको सम्झौताका आधारमा कतारमा काम गर्दै आएका सबै श्रमिकलाई त्यहीअनुसार सुविधा दिनुपर्छ । त्यसकारण एउटा देशले मात्रै श्रमिकको आधारभूत पारिश्रमिक टुङ्ग्याएर नहुने भए पनि नेपालका तर्फबाट निरन्तर यस विषयलाई छलफल गरेर एउटा समझदारीमा पुग्ने गरी अहिलेलाई छलफलकै क्रममा राखिएको छ । तर हामी आशा गरौँ, श्रम सम्झौता परिमार्जन दुवै देशको आवश्यकता हो । जतिसक्दो चाँडो हामी यसलाई निष्कर्षमा पु¥याउँछौँ ।

यसमा केही समय निर्धारण गर्न सकिन्छ कि ?

यो छलफलकै विषय हो । कतारलाई घरेलु कामदार चाहिएको छ । घरेलु कामदारका माग उच्च भएका कारणले चाँडो लैजाने भन्ने छ । किनकी नेपालीहरु इमान्दार छन् । नेपाली श्रमिकमा काममा जतिसुकै कठिनाइ भए पनि ‘मुस्कान’ सहितको सेवा दिन सक्ने क्षमता छ । नेपाली श्रमिकमा थकाइको महसुस छैन । त्यसैले कतारले नेपाली नागरिकलाई चाहेको छ । कतारको आवश्यकता भएको र बेरोजगार नेपाली युवाले रोजगारी पाउने भएकाले मिति नै किटान गरेर यति समयभित्र हुन्छ त भन्न सकिँदैन । यद्यपि, छिटो गर्नका लागि हामी दुवै पक्ष प्रयत्नरत रहनेछौँ ।

घरेलु महिला श्रमिकको सुरक्षाको सुनिश्चितता नभएको भन्दै संसदीय समितिको निर्देशनमा सरकारले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । श्रम सम्झौतामा घरेलु काममा जाने महिला श्रमिकको सुरक्षाको प्रत्याभूति कसरी गर्न सकिन्छ ?

अवैधानिक बाटोबाट गएका बाहेक, अहिलेसम्म वैधानिक रुपमा त्यहाँ घरेलु श्रमिक महिला हुनुहुन्न । वैधानिक हिसाबले नयाँ बाटो अवलम्बन गर्दैछौँ । त्यसका लागि मैले दुई जना पूर्व श्रममन्त्रीसँग पनि छलफल गरेको छु । वर्तमान श्रम मन्त्रीसँग पनि यस विषयमा छलफल गरिरहेका छौँ । मेरो प्रस्ताव के हो भने कुनै पनि महिला कामदारलाई लगियो भने उहाँलाई मोबाइल फोन उपलब्ध गराउने प्रावधान राख्नुपर्छ । मोबाइल फोनमा एउटा ‘एप्स’को सहायताले सामान्य पढलेख गरेका व्यक्तिले समेत ‘हो’ र ‘होइन’ को उत्तर दिन सक्ने गरी उक्त व्यक्तिको अवस्थाबारे जानकारी लिने संयन्त्रको प्रयोग गर्न सकिन्छ । उक्त एप्सबाट उक्त व्यक्तिलाई सोधिएने प्रश्नमा मासिक रुपमा पारिश्रमिक पाएको छ, छैन ? कुनै किसिमको मानसिक तनाव दिइएको छ वा छैन ? भन्ने प्रश्नहरुसहितको रिपोर्ट दूतावास र कतार सरकारको निश्चित निकाय सन्देश जाने व्यवस्था गर्न सकिन्छ । यदि दुवैतर्फ सन्देशमा कुनै पनि समस्या देखिएमा दुवै सरकारबीचको प्रतिनिधिले समाधान गर्ने बाटोमा जानुपर्छ भनेर निरन्तर पहल गरिरहेको छु ।

पारिश्रमिकको कुरा अत्यन्त महत्वपूर्ण छ । अहिले सरकारले तल्लो तहमा काम गर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक एक हजार रियाल तोकेको छ । तीन सय रुपैयाँ खानाको पर्न आउँछ, पाँच सय रुपैयाँ आवासका लागि छ । आवासीय हिसाबले रोजगारदाता आफैँले व्यवस्था गर्दै आएका छन । पाँच सय रुपैयाँमा आवास पाइँदैन त्यहाँ न्यूनतम् पनि आवासका लागि पाँच हजार पर्न आउँछ, महँङ्गो पर्न आउँछ । यही हिसाबले घरेलु श्रमिकलाई एक हजार हिसाबले पारिश्रमिक दिएर काम गराउनु हुँदैन । कम्तिमा पनि दुई हजार हुनुपर्छ भन्दै आएका छौँ । हाम्रो नागरिकले दुःख नपाउन भनेरै हामी यसमा गम्भीर छौँ ।

दक्षिण कोरिया र इजरायलमा जाने नेपाली श्रमिकले अन्य मुलुकका तुलनामा धेरै पारिश्रमिक पाउने गरेका छन् । कतारमा रहेका नेपाली श्रमिकको पारिश्रमिक बजार मूल्यअनुसार परिमार्जन हुन नसक्नु कमजोरी होइन र ?

यो मेरो एकल प्रयत्नले सम्भव हुने कुरा हैन । अन्य देशका श्रमिकले पनि कतारमा समान पारिश्रमिकमा काम गरिरहनुभएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले पटकपटक बैठक राख्ने गरेको छ । त्यसमा हामी विभिन्न देशका प्रतिनिधिहरुले बजार मूल्यअनुसार पारिश्रमिक वृद्धिका लागि एक स्वरमा आवाज उठाउँदै आएका छौँ । अन्तरराष्ट्रिय श्रम बजारअनुसार पारिश्रमिक कायम गर्नुपर्नेमा जोड दिंदै आएका छौँ । मलाई खड्किएको अर्को विषय भनेको श्रमिकको मृत्यु पनि हो । वर्षेनी एक डेढ सय श्रमिकको मृत्यु भइरहेको हुन्छ । अधिकांश नेपाली श्रमिक कोठामा बसिरहेको समयमा वा अन्य कुनै ठाउँ अथवा कार्यालय÷कामको समय बाहिर मृत्यु भएको देखिन्छ । त्यहाँ २४ घन्टे बीमाको व्यवस्था छैन । हामी श्रमिकको २४ सै घण्टा जीवन बीमाका लागिपरेका छौँ ।

कतारका अमिरको भ्रमणका क्रममा दुबै देशका समाचार समिति रासस र क्युएनएबीच समाचार आदानप्रदान गर्ने सहमति भएको थियो । यसलाई कसरी हेर्नुहुन्छ ?

राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए)बीच समाचार सामग्री आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दुबै देशका लागि यो अत्यन्त महत्वपूर्ण कुरा हो । यसले दुई देशको सम्बन्धलाई जनस्तरमा दरिलो बनाउँछ । राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत विभिन्न सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज भई दुबै देशका जनता लाभान्वित हुनेछन् । यसले एकअर्काबीच सूचना आदानप्रदान हुने वातावरण बन्छ । अब कार्यान्वयन महत्वपूर्ण कुरा हो । अब हामी यसमा जुट्नुपर्छ । यसका लागि आवश्यक सहजीकरण गर्न म तयार छु ।

अमिरको भ्रमणका अवसरमा नेपालले दुई वटा हात्ती उपहार दिने विषय चर्चामा थियो । तर यो विषयले छलफलमा प्रवेश पाएन नि ?

कतारका तर्फबाट सन् २०१७, २०१८ र २०२१ मा तीन पटक चिडियाघरमा राख्नका लागि हात्तीको अनुरोध भएको रहेछ । म राजदूतका रुपमा गइसकेपछि यससम्बन्धी कागजात हेरेर उक्त विषयलाई पुनः अगाडि बढायौँ । कतारका अमिर नेपाल आएको सन्दर्भमा हात्ती उपहार दिने बारेमा मैले राष्ट्रपति, प्रधानमन्त्री र वन तथा वातावरणमन्त्रीसँग पनि कुरा राखेको थिएँ । कतारका अमिरको भ्रमण हुँदा हात्ती उपहार दिने भन्ने उच्चस्तरमा कुराकानी भएपछि हामी त्यो प्रक्रियामा लाग्यौँ । हात्तीको जीवन्तताका लागि पशु चिकित्सकसहित वन मन्त्रालयको टोली नै कतार गएर वासस्थानको अवलोकन गरेको थियो । उहाँहरुले केही सुझाव पनि कतारी पक्षलाई दिनुभयो । कतारका तर्फबाट पनि त्यहाँको चिडियाघरको निर्देशकसहितको टोली आएर यहाँ अध्ययन ग¥यो । त्यसपछि नेपालका तर्फबाट उपहारका रुपमा दुई हात्ती दिने समझदारी थियो । अहिले पनि नेपालले हात्ती नदिने भन्ने होइन तर अन्तर्राष्ट्रिय नियम कानुनको सबैले पालना गर्नुपर्ने भइएको हुनाले प्रक्रियागत हिसाबबाट बाँकी रह्यो । प्रक्रिया नटुङ्गिँदै पठाउँदा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुन्थ्यो । अब अन्तर्राष्ट्रिय कानुनको पालना गरेर कतारलाई हात्ती उपहार दिँदा खासै फरक नपर्ने हुँदा अहिलेलाई यो ‘पेन्डिङ’ छ । प्रक्रिया पूरा भएपछि नेपाल सरकारले एक जोडी हात्ती उपहारस्वरुप कतारलाई हस्तान्तरण गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री