शनिबार, ८ वैशाख २०८१

ऊर्जामन्त्री पुनद्वारा माथिल्लो तामाकोशीको निरीक्षण, असारदेखि विद्युत उत्पादन

समयपोष्ट २०७६ चैत ९ गते १६:२४

Advertisement

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको जलासययुक्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइतबार निरीक्षण भ्रमण गर्नुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको तामाकोशीको बाँध तथा (सिण्डिकेटर बेसिन) बालुवा थिग्र्याउने पोखरीको प्राविधिक परीक्षण सुरु भएपछि मन्त्री पुन निरीक्षणमा जानुभएको हो । गत सोमबारबाट पानी जम्मा गर्न सुरु गरिएकामा आइतबार पोखरी भरिएको छ । २२ मिटर उचाइ तथा ६० मिटर चौडाइको बाँध निर्माण गरिएको छ । आठवटा ढोका रहेको बाँधमा चारवटा डिसेन्डर बेसिन राखिएका छन् । बेसिनमार्फत मुख्य सुरुङ हुँदै पावर हाउससम्म पानी पु¥याइन्छ । बाँधको परीक्षण सफलतापूर्वक सम्पन भएको छ । बाँध र पोखरीको प्राविधिक परीक्षण सफल भएकामा मन्त्री पुुनले आयोजनाका पदाधिकारी, ठेकेदार, परामर्शदाता र निर्माण युनिटलाई धन्यवाद दिनुभयो ।
निर्धारित समयमै काम सक्न निर्देशन

बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि मन्त्री पुनले निर्धारित मितिमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिनुभयो । भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्ने उहाँको भनाइ थियो । परीक्षणका काम चालु आर्थिक वर्षमै सक्ने र आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउन मन्त्री पुनको निर्देशन थियो । काम गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै व्यवधान हटाउन सरकार तयार रहेको भन्दै उहाँले तर, काम तोकिएकै समयमा हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारको मात्र नभई दोलखा, रामेछापसहित देशैभरका सर्वसाधारण, निजामति र जंगीतर्फका कर्मचारीको समेत लगानी रहेकाले निर्माणका काममा ढिलाइ हुन नहुने मन्त्री पुनको स्पष्टोक्ति थियो । उहाँले समस्या परे तत्काल आफूलाई खबर गर्न आयोजनाका अधिकारीलाई आग्रह गर्नुभयो ।

‘माथिल्लो तामाकोशीमा सरकारको मात्र होइन, शेयरमार्फत जनताको ठूलो लगानी परेको छ’, मन्त्री पुनले भन्नुभयो, ‘धेरै काम भएको छ, अब बाँकी काम जसरी भए पनि समयमै हुनुपर्छ ।’ थोरै भए पनि संवेदनशील र चुनौचीपूर्ण काम बाँकी रहेकाले प्राविधिक कमजोरी नगर्न पनि मन्त्री पुनले सचेत गराउनुभयो । आयोजनाका पदाधिकारी, ठेकेदार र परामर्शदाता सबैले समयमै काम सक्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जामन्त्री भएपछिपुनको यो तेश्रो तामाकोशी भ्रमण हो ।

मन्त्री पुनसँगै निरीक्षणमा जानुभएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले धेरै जटिलता र कठिनाइबीच आयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएकामा ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिनुभयो । दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङले देशकै सबैभन्दा ठूलो आयोजना जिल्लामा बन्नु दोलखाकासीका लागि खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।

मन्त्री पुन र गुरुङसँगै टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य डा. कृष्णप्रसाद ओली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीका अध्यक्ष कुलमान घिसिङ लगायत सहभागी हुनुहुन्थ्यो ।
कहाँपुग्यो तामाकोशीको काम ?
२०६५ सालबाट सुरु भएको आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाबाट आगामी असारदेखि विद्युत उत्पादन थाल्ने तयारी छ । सबैभन्दा जटिल ठानिएको आयोजनाको ठाडो सुरुङमा ३ सय ५५ मिटर लामो पेनस्टक पाइप जडान गरिएको छ । तल्लो ठाडो सुरुङमा २ सय २० मिटर र माथिल्लो ठाडो सुरुङमा १ सय ३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । तल्लो ठाडो सुरुङमा १ सय ४७ र माथिल्लो ठाडो सुरुङमा १ सय ७१ मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम आगामी वैशाख महिनाभर सकिन्छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गरिनेछ । त्यसका लागि करिब डेढ महिना लाग्नेछ ।

असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका रहेको तामाकोशी आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

सिभिलअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत गृहका सम्पूर्ण उपकरण यसअघि नै जडान भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री