
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक सम्पत्तिलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताएका छन् ।
शनिबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा ‘मण्डनदेउपुर ल्होछार सांस्कृतिक महोत्सव २०७५’ ले आयोजना गरेको ‘२८५५ औँ फग सोनाम ल्होछार’ कार्यक्रममा बोल्दै उनले सांस्कृतिक शक्तिलाई आर्थिक शक्तिमा बदल्नको निम्ति हामीसँग भएका सम्पूर्ण स्रोत र शक्ति बदल्न सक्नुपर्ने बताए । उनले त्यसका लागि जल, जङ्गल, जमीन र मानवीय शक्ति र ज्ञानलाई एकीकृत गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । “अब नेपाल राष्ट्रको यात्रामा सबै जाति, भाषा, धर्म र संस्कृति समान भएकाले कसैप्रति विभेद र दमन छैन”, मन्त्री बाँस्कोटाले भने, “त्यसका लागि सबै समृद्ध राष्ट्र निर्माणको महाअभियानमा लाग्न जरुरी छ ।”
अहिले तीन तहको सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले ध्वंशपछि निर्माण हुने भएकाले भूकम्पपछि नयाँ निर्माणको कार्यबाट देश अघि बढिसकेको र नवनेपालको ऐतिहासिक बलियो जग खडा गरिसकेको छ भने ।
उनले संस्कृति पनि पर्यटन पूर्वाधार क्षेत्रको महत्वपूर्ण पाटो भएको बताउँदै त्यसका लागि सरकारको तर्फबाट गर्न सकिने सहयोग गर्ने बचन दिए ।
उनले तामाङ समुदायको पहिचानको रुपमा स्थापित बौद्धनाथलाई देशको अन्तर्राष्ट्रिय पहिचान हुने टिकट प्रकाशन गर्ने निर्णय बिहीबार भएकाले छिट्टै प्रकाशन हुने समेत जानकारी गराए ।
उनले देश र प्रकृतिको बहुलता समावेशिता भएकाले यो आज राज्यको प्रत्येक निकायमा रहेको उल्लेख गर्दै सरकारले बिदा काटेको नभई स्थानीय सरकारले तीन दिन बिदा दिएको बताए । स्थानीय सरकारले आफ्नो भौगोलिक र समुदायको बसोबासको हिसाबले बिदा दिएको उनको भनाइ छ ।










प्रतिक्रिया