
आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेनाको टोली सवार बस भोजपुरमा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा परी २४ जना सैनिक घाइते भएका छन् । बसमा जम्मा २६ जना सवार थिए, जसमध्ये एक जना जमदार र एक जना अन्य सैनिक कर्मचारी भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी राजु लामाले जानकारी दिएका छन् ।
ना. ४ ख ७३१७ नम्बरको उक्त बस श्रीनाथ गणको टोली बोकेर टेम्केमैयुङ गाउँपालिकातर्फ जाँदै गर्दा भोजपुर नगरपालिका-४ दावाँस्थित सेती बगर क्षेत्रमा सडकबाट खसेको हो । दुर्घटना सडकको मोडमा नियन्त्रण गुमाउँदा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको र ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको विभिन्न स्रोतहरूले जनाएका छन् । बाँकी घाइतेहरूलाई स्थानीय अस्पताल तथा नजिकैका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रहरी तथा सेनाको टोलीले उद्धार तथा राहत कार्य जारी राखेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।










प्रतिक्रिया