
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो संकल्प पत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा “सबल, समृद्ध र समुन्नत नेपाल – पृथ्वी पथ” मूल नारासहित यो संकल्प पत्र जारी गरेका हुन्।
राप्रपाले वर्तमान प्रदेश संरचना पूर्ण रूपमा खारेज गरी केन्द्र र बलियो स्थानीय तह गरी दुई तहको शासकीय संरचना प्रस्ताव गरेको छ। स्थानीय तहको निर्वाचनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन पूर्ण रूपमा गैरदलीय आधारमा गर्ने एजेन्डालाई उच्च प्राथमिकता दिएको छ।
पार्टीले अभिभावकीय संस्थाको रूपमा राजसंस्थाको पुनर्स्थापना र सर्वधर्म समभावसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पुनर्स्थापनालाई आफ्नो मूल लक्ष्य बनाएको छ। यसअघिका निर्वाचनमा मुख्य एजेन्डाको रूपमा रहेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव यसपटक संकल्प पत्रबाट हटाइएको छ। यसको सट्टा पूर्ण समानुपातिक संसद् र खर्चिलो तथा अस्थिर वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधारको माग गरिएको छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अख्तियार गर्दै राप्रपाले २०४६ सालपछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरी अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्ने कडा कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले “बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं” भन्ने आक्रामक नारा अघि सारेको छ।
आर्थिक समृद्धिका लागि आगामी दशकलाई ऊर्जा उत्पादन दशक घोषणा गर्दै २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने र नेपाललाई शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने निर्यातकर्ता मुलुक बनाउने लक्ष्य राखिएको छ। कृषि क्षेत्रमा आधुनिकीकरण, रासायनिक मल कारखाना स्थापना र प्रत्येक स्थानीय तहमा नेपाल मार्ट सञ्चालन गरी स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने योजना पनि समेटिएको छ। सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाई लाखौं रोजगारी सिर्जना गर्ने र डिजिटल नेपालको अवधारणा पूर्ण कार्यान्वयन गर्ने संकल्प गरिएको छ।
शिक्षा र स्वास्थ्यमा कक्षा १२ सम्मको शिक्षा पूर्ण निःशुल्क र आधारभूत स्वास्थ्य उपचार सबै सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने घोषणा गरिएको छ। पर्यटनलाई विदेशी मुद्रा आर्जनको मुख्य स्रोत बनाउन प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
परराष्ट्र नीतिमा “सबैको मित्रता स्वीकार्य, हस्तक्षेप अस्वीकार्य” र “नेपाल प्रथम, नेपाली प्रथम” सिद्धान्त अवलम्बन गर्ने बताइएको छ। राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाको क्षमता अभिवृद्धि र सीमा सुरक्षालाई उच्च प्राथमिकता दिने नीति अघि सारिएको छ।
विदेशमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्था र गैरआवासीय नेपालीको सीप तथा पुँजीलाई राष्ट्र निर्माणमा उपयोग गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि संकल्प पत्रमा समावेश छ।
राप्रपाले पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मार्गदर्शक सिद्धान्त मानेर “पृथ्वी पथ” लाई राष्ट्र निर्माणको मौलिक मार्गचित्रको रूपमा अघि बढाएको छ। पार्टीले आफ्नो परम्परागत चुनाव चिह्न हलोमा मतदान गरी देशमा नयाँ समझदारी र सुशासनको यात्रा सुरु गर्न सम्पूर्ण मतदातासँग अपिल गरेको छ।










प्रतिक्रिया