
नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक यातायात क्षेत्रमा व्यापक सुधारको आवश्यकता औंल्याउँदै एकीकृत प्राधिकरण गठनको अवधारणा सार्वजनिक गरेका छन्।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत जारी गरेको भिडियो सन्देशमा उनले काठमाडौं उपत्यका तथा देशभरका यात्रुहरूले भोग्नुपरेको दैनिक कष्ट—घण्टौँ ट्राफिक जाम, सडकमा उड्ने धुलो, असुरक्षित यात्रा, साना तथा अव्यवस्थित सवारी साधनमा निर्भरता, एकीकृत नभएको रुट परमिट तथा भाडा संरचना, र राजधानीमै समयमै कार्यालय पुग्न नसक्ने अवस्था—लाई प्रमुख समस्या बताए।
“सार्वजनिक यातायातबाट जनता जति पीडित छन्, त्यसअनुसार प्राथमिकता र संवेदनशीलता नदेखिएको अनुभूति छ,” थापाले भने, “यसलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अब विकल्प होइन, अपरिहार्य आवश्यकता हो।”
उनले सुधारका लागि सरकार, सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा आधारित एकीकृत यातायात प्राधिकरणको अवधारणा अघि सारेका छन्। यसले रुट व्यवस्थापन, भाडा नियमन, सवारी साधनको गुणस्तर, यात्रु सुरक्षा र समयबद्ध सेवालाई एकीकृत रूपमा सम्बोधन गर्ने लक्ष्य राखेको छ।
थापाले नेपाली कांग्रेसले यस क्षेत्रमा ठोस नीतिगत तथा प्राविधिक तयारी गरिरहेको बताउँदै भने, “हामीले यो सुधारको प्रक्रिया ढिलाइ नगरी अघि बढाउने प्रतिबद्धता गरेका छौं।”









प्रतिक्रिया