
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित मेलामा हुनसक्ने सुरक्षा चुनौतीहरूलाई ध्यानमा राखेर उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।
शिवरात्रि पर्व फागुन १४ गते मनाइँदै छ । फागुन १३ गतेबाटै प्रहरी परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
काठमाडौँको पशुपति क्षेत्रको सुरक्षाका लागि प्रहरी उपरीक्षक (एसपी) को कमाण्डमा ४ हजार २ सय प्रहरी खटाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले सुरक्षा कमाण्ड सम्हाल्नेछन् । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले भने, “मंगलबारदेखि नै पशुपति क्षेत्रमा ४ हजार २ सयभन्दा बढी प्रहरी परिचालन गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याउँदै छौँ ।”
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन पशुपतिनाथ मन्दिर परिसरमा एउटा कमाण्ड पोस्ट स्थापना गरिएको छ । उक्त पोस्टबाट एसपी बोहरासहित तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र चार जना प्रहरी निरीक्षकले निगरानी गर्नेछन् ।
चोरी, डकैती र झडपजस्ता घटना रोक्न डीएसपीको नेतृत्वमा ४० जना सादा पोसाकका प्रहरी परिचालन गर्ने योजना बनाइएको छ । शिवरात्रि अवधिभर प्रहरीले तीन सिफ्टमा काम गर्नेछन् । चारवटा वाकथ्रु गेटमा प्राविधिक सहयोगसहितका सुरक्षाकर्मी तैनाथ हुनेछन् ।
प्रहरीले सुरक्षाका लागि मेटल डिटेक्टर र ड्रोन क्यामेरा प्रयोग गर्नेछ । एसपी बोहराले भने, “अवाञ्छित गतिविधि रोक्न ड्रोनमार्फत निगरानी गर्नेछौँ ।”
अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनका लागि सात जना डीएसपीलाई शिवरात्रि अवधिभर खटाउने सुरक्षा योजना उपत्यका प्रहरी कार्यालयले अनुमोदन गरेको छ । मेला अवधिभर ८९ जना प्रहरी निरीक्षक पनि परिचालित हुनेछन् ।










प्रतिक्रिया