
‘रन टु शाइन’ नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी फागुन ११ गते हुने उक्त दौड प्रतियोगिता १० किलोमिटर दूरीको राष्ट्रिय स्तरको प्रतिस्पर्धा हुनेछ, जसमा देशभरका राष्ट्रिय धावकहरूको सहभागिता रहनेछ।
बैंकका अनुसार प्रतियोगिताको पुरस्कार राशी कुल ५ लाख रुपैयाँ रहेको छ। खुला विधामा पुरुष तथा महिला विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथो हुनेलाई १५ हजार, र पाँचौं स्थान हासिल गर्नेलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।
स्थानीय धावकहरूको सहभागिता अभिवृद्धि गर्न ५० वर्षसम्म र ५० वर्षभन्दा माथिका खेलाडीहरूका लागि ५ किलोमिटरको दौड समावेश गरिएको छ। यस विधामा विजेताले जनही १५ हजार, दोस्रो स्थान प्राप्त गर्नेले १० हजार, तेस्रो हुनेले ५ हजार, चौथो हुनेले २ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरू बैंकको आधिकारिक वेबसाइट www.srdb.com.np मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्। दौड बैंकको केन्द्रीय कार्यालय कालिकानगरबाट सुरु भई मणिग्राम चोक हुँदै पुनः केन्द्रीय कार्यालयमै समापन हुनेछ।
नेपाल एथलेटिक्स संघ र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा सञ्चालन हुन लागेको प्रतियोगिता स्थानीय पालिकासँगको सहकार्यमा सम्पन्न गरिनेछ। प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालनमा कखरा इभेन्ट्स संलग्न रहनेछ।
१६ वर्षदेखि वित्तीय क्षेत्रमा सेवा प्रदान गर्दै आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक सामाजिक उत्तरदायित्वका विविध कार्यमा अग्रसर रहँदै आएको छ। खेलकुद प्रवर्द्धनका साथै समाजसँगको सहकार्यलाई अझ सशक्त बनाउन बैंकले यस राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गरेको बैंकले जनाएको छ ।










प्रतिक्रिया