एलिनाले यसरी खोलिन डिभोर्सको रहस्य (भिडियोसहित)
गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी उनले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेकी हुन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियोमा उनले विवाह गर्न हतार गरेको स्वीकार्दै डिभोर्सको निर्णय सोचविचार गरेर लिएको खुलाएकी छन्। उनले भनिन्, “कसैले विवाह गर्दा डिभोर्स हुन्छ भनेर गर्दैन। हिन्दू संस्कारअनुसार त झन् सात जन्मसम्मको सम्बन्ध भनेर गरिन्छ। कुनै आमाबाबुले पनि आफ्नी छोरीको डिभोर्स होस् भन्ने चाहँदैनन्। हामीले धेरै सोचेर, आपसी सहमतिमै यो निर्णय लिएका हौं।”
उनले अदालतको विषय बाहिर आएकोमा आश्चर्य प्रकट गर्दै समयमै निर्णय लिनु आवश्यक भएको बताइन्। उनले भनिन्, “मनमुटाव भइरहँदा ठूला दुर्घटनाहरू हुन सक्ने सम्भावना हुन्छ। अहिले कुनै ठूलो समस्या नभए पनि भविष्यमा गम्भीर नहोस भनेर हामीले यो कदम उठाएका हौं।”
चौहानले प्रेम सम्बन्धका बेला पनि खटपट हुने गरेको स्वीकार्दै विवाहपछिको जीवन सहज नभएको खुलाइन्। “हाम्रो प्रेम विवाह थियो। प्रेममा नै झगडा भइरहन्थ्यो, तर मैले सहन्छु, एक दिन ठिक हुन्छ भनेर अघि बढेकी थिएँ। उहाँले पनि यति सहने केटीसँग जिन्दगी सहज चल्छ भन्ने सोच्नुभयो। तर, समयसँगै मैले सहन सकिनँ, उहाँले अपेक्षा गरेजस्तो म पूरा गर्न सकिनँ।”
यस क्रममा पतिलाई गाली नगर्न आग्रह गर्दै उनले भनिन्, “मलाई समर्थन गर्नुस्, तर उहाँलाई नराम्रो नभन्नुहोस्। बरु मलाई दोष दिनुस्। खरानी भइसकेको मान्छेलाई आगोसँग डर हुँदैन।”
प्रतिक्रिया