सोमबार, १७ वैशाख २०८१

चर्चित गजल गायक पंकज उधासको निधन

समयपोष्ट २०८० फागुन १४ गते १६:५७

Advertisement

चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा आज निधन भएको छ ।

उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।

गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिट्ठी आई है’ बाट निकै चर्चा पाएका थिए । गायक सोनु निगमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘आज मेरो बाल्यकालको सबैभन्दा महत्त्वपूर्ण अंश हराएको छ । पंकज उधासजी, म तपाईंलाई सधैँ सम्झिरहनेछु। तपाईं रहनुभएन भन्ने थाहा पाउँदा मन रोयो । जीवनको एक हिस्सा भएकोमा धन्यवाद, शान्ति।’

पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो।

उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए। उनका बुबा केशुभाई उधास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उधासलाई गीतको निकै मन थियो । यही कारण पंकज उधास र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो । उनका दुवै दाजु मनहर र निर्जल उधास संगीत क्षेत्रका चर्चित नाम हुन् । पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका दुई छोरी नायब र रेवा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री