आइतबार, २२ असार २०८२

‘सलाम इच्छुक’ गीतको छायांकन सम्पन्न : कृष्ण सेन ‘इच्छुक’प्रति समर्पित सृजना

समयपोष्ट २०८२ असार २० गते ६:१९

Advertisement

प्रगतिशील पत्रकार, साहित्यकार तथा क्रान्तिकारी चिन्तक कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’को छायांकन सम्पन्न भएको छ। यो गीतमा वरिष्ठ पत्रकार महेश्वर दाहालको शब्द, केशर कालिकोटेको सङ्गीत र रमण थामीको स्वर रहेको छ।

गीतकार दाहालले यो गीत इच्छुकको सामाजिक न्याय, क्रान्तिकारी विचार र मुक्तिको सपनालाई स्मरण गर्दै तयार गरिएको बताउनुभयो। “इच्छुकजस्ता युगदृष्टा पत्रकारप्रति यो गीत हाम्रो श्रद्धाञ्जली हो। उहाँको प्रेरणालाई जीवन्त राख्न यो सृजना कोसेढुङ्गा बन्नेछ,” दाहालले भन्नुभयो।

सङ्गीतकार कालिकोटेले इच्छुकको जीवन र सङ्घर्षबाट प्रेरित भएर सशक्त धुन रचना गरिएको बताउनुभयो। “यो गीत केवल श्रद्धाञ्जली होइन, यो क्रान्तिकारी चेतनाको सशक्त प्रतिध्वनि हो,” उहाँले थप्नुभयो।

गायक रमण थामीले गीतमार्फत इच्छुकको योगदानलाई स्मरण गर्नु भावनात्मक र वैचारिक सम्मान भएको बताउनुभयो। “इच्छुकको विचार र बलिदान नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हो। यो गीतले त्यसलाई जीवित राख्नेछ,” थामीले भन्नुभयो।

Advertisement

इच्छुकलाई २०५९ जेठ १३ गते पक्राउ गरी यातना दिएर हत्या गरिएको थियो। उनको हत्याले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा पाएको थियो। तत्कालीन जनयुद्धकालका साहित्य र सङ्गीतका अगुवा मणि थापाले यो गीतले इच्छुकको विचार र बलिदानलाई नयाँ पुस्तामाझ जीवन्त राख्ने बताउनुभयो। “इच्छुक क्रान्तिकारी पत्रकारिता र साहित्यका प्रतीक हुन्। यो गीतले उनको वैचारिक उत्तराधिकारलाई सम्मान गर्छ,” थापाले भन्नुभयो।

साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले यो गीतले सङ्गीत र साहित्यमार्फत इतिहासको मूल्याङ्कनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो। “यो सृजनाले क्रान्तिकारी चेतनालाई जीवित राख्दै इतिहासको सम्मानमा नयाँ मानक स्थापित गर्नेछ,” ज्ञवालीले भन्नुभयो।

यो गीतले इच्छुकको स्मृति र उनको विचारधारा बोकेर नयाँ पुस्तालाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री