देशभरि कृषियोग्य जमिन २८ र वन क्षेत्र ४२ प्रतिशत

देशभरि कृषियोग्य जमिन ४१ हजार २ सय ७५ दशमलव ५४ वर्ग किलोमिटर रहेको पाइएको छ। यो कुल जग्गाको २७ दशमलव ८९ प्रतिशत हो। यसैगरी वन क्षेत्र ६१ हजार ७ सय ३९ दशमलव ९८ वर्ग किलोमिटर रहेको देखिएको छ।

Advertisement

यो कुल जग्गाको ४१ दशमलव ७१ प्रतिशत हो। नापी विभागले २०६६ सालमा सुरु गरेर २०७५ सम्म देशभरिको जमिनको मापन गरेर तयार पारेको भूउपयोग डाटाले यस्तो देखाएको हो।

देशभरिका डाटा एकीकृत गरी विभागका प्राविधिकहरूले जमिनलाई ११ क्लस्टरमा विभाजन गरेका छन्। भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७८ मा जग्गालाई ११ किसिमबाट वर्गीकरण गरिएको छ।

उक्त ऐनमा व्याख्या गरिएअनुसार देशभरि मापन गरिएको कुल जग्गालाई आधार मानी वर्गीकरण गरिएको विभागका प्राविधिक कर्मचारी बताउँछन्। वर्गीकरणअनुसार खानी तथा खनिज क्षेत्र रहेको जग्गा निकै कम देखिएको छ। यस्तो जग्गा २५ दशमलव ८५ वर्ग किलोमिटर मात्र छ। यो भनेको शून्य दशमलव शून्य २ प्रतिशत हो। उद्योग क्षेत्रले ओगटेको जग्गा पनि निकै कम छ।

यस्तो जग्गा ९४ दशमलव ९८ वर्ग किलोमिटर रहेको पाइएको छ। यसलाई प्रतिशतमा मापन गर्दा शून्य दशमलव शून्य ६ हुन आउँछ। डाटाअनुसार सांस्कृतिक तथा पुरातात्विक क्षेत्रले ओगटेको जग्गा १४ दशमलव ३३ वर्ग किलोमिटर छ।

Advertisement

यो भनेको शून्य दशमलव शून्य १ प्रतिशत मात्र हो। वर्गीकरण गरिएको जग्गामध्ये यस्तो जग्गा सबैभन्दा कम देखिएको विभागका प्राविधिक कर्मचारीहरूको भनाइ छ। यसैगरी व्यावसायिक प्रयोजनका लागि उपयोग गरिएको जग्गा देशभरि ७९ दशमलव ४३ वर्ग किलोमिटर छ। यसलाई प्रतिशतमा मापन गर्दा शून्य दशमलव शून्य ५ प्रतिशत हुन आउँछ।

यस्तै सार्वजनिक उपयोगका लागि प्रयोग गरिएको जग्गा देशभरि ११ हजार ४ सय ६ दशमलव ७५ वर्गकिलोमिटर छ। यसलाई प्रतिशतमा राख्दा ७ दशमलव ७१ हुन्छ। आवासीय प्रयोजनका लागि वर्गीकरण गरिएको जग्गा देशभरि १ हजार ९ सय ८० दशमलव ११ वर्ग किलोमिटर देखिएको छ। यसलाई प्रतिशतमा हिसाब गर्दा १ दशमलव ३४ प्रतिशत हुन आउँछ।

यसैगरी नदीपोखरीले ओगटेको कुल जग्गा जोड्दा ४ हजार ९ सय ३७ दशमलव ३२ वर्ग किलोमिटर छ। यसलाई प्रतिशतमा हेर्दा ३ दशमलव ३४ प्रतिशत हुन्छ। विभागका अनुसार देशभरिको संरक्षित क्षेत्र ४ हजार ५ सय ६८ दशमलव ७१ वर्ग किलोमिटर रहेको छ।

यसलाई प्रतिशतमा लैजाँदा ३ दशमलव शून्य ९ प्रतिशत हुन आउँछ। यी क्लस्टरबाहेक अन्य क्लस्टरमा रहेको जग्गा देशभरि २१ हजार ८ सय ८४ दशमलव ५९ वर्गकिलोमिटर रहेको, जसलाई प्रतिशतबाट हेर्दा १४ दशमलव ७९ हुन आउँछ। आजको नागरिक दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री