थला परेको पर्यटकीय क्षेत्रलाई उकास्न सरकार लागि परेको छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि धनगढीका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

Advertisement

अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आज यहाँ उद्घाटन गर्दै उहाँले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले प्रचूर सम्भावना बोकेको सुदूरपश्चिमको आर्थिक रुपान्तरणका यी क्षेत्रको विकास तथा विस्तारमा सम्बन्धित सबै पक्षको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी छ, यसका लागि सम्बन्धित सबै पक्षको सहयोग, समन्वय र सहकार्य आवश्यक छ ।”

मन्त्री आलेले सुदूरपश्चिमका मुख्य पर्यटकीय तथा धार्मिकस्थल खप्तड, बडिमालिका, रमारोसन, सैपाल, शैलेश्वरी, उग्रतारा, मालिकार्जुन, निङ्लासैनीलगायतका क्षेत्रमा हजारौँ पर्यटक भित्र्याउनका लागि त्यस क्षेत्रमा विकास निर्माण सम्बन्धी कार्य भइरहेको उल्लेख गर्दै सुदूरपश्चिमस्थित पर्यटकीय सम्भावना बोकेका यी क्षेत्रको विकास गरेर यसलाई देश विदेशमा चिनाउने कार्यमा सरकारले सहयोग गर्ने बताउनुभयो ।

उहाँले कैलालीको खुटिया, बिपीनगर, गड्सेरा, दिपायल, सायल, बझाङ हुँदै उरै ताक्लाकोट भञ्ज्याङ जोड्ने दु्रतमार्गका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गरिएकाले चाँडै नै ती मार्ग निर्माण भएर यहाँको पर्यटकीय तथा धार्मिकस्थलमा सयौँ पर्यटक पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री आलेले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण विगत दुई वर्षदेखि थला परेको पर्यटकीय क्षेत्रलाई उकास्नका लागि सरकार लागि परेको बताउँदै सुदूरपश्चिममा पर्यटक भित्र्याउनका लागि यहाँ रहेका विमानस्थलको स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष अशोक देवकोटाले खेलकुद क्षेत्रको विकासका लागि खेलमैदान र मञ्च निर्माण गर्न अत्तरियामा आवश्यक सार्वजनिक जग्गा उपलब्ध गराउनका लागि पहल गरिदिनहुन मन्त्री आलेलाई आग्रह गर्नुभयो ।

Advertisement

खप्तड क्षेत्रको विकास गर्नु अहिलेको अपरिहार्य आवश्यकता
मन्त्री आलेले प्रकृतिले दिएको अनुपम उपहार खप्तड र बडिमालिकाको मात्रै विकास गर्नसके सुदूरपश्चिमको विकासमा कायापलट हुने बताउनुभएको छ ।

यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड तथा दिपायल विमानस्थलको निरीक्षण तथा अवलोकनका लागि आज खप्तड पुग्नुभएका उहाँले सुदरुपश्चिमको विकास र समृद्धिका लागि खप्तड क्षेत्रको विकास गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुन्दर प्रकृतिको खानी खप्तडमा सामान्य पूर्वाधार विकास गर्नसके यहाँ वर्षेनी लाखौँ पर्यटक भित्रिने छन्, त्यसैले यो क्षेत्रको विकास तथा विस्तारका लागि आफू सक्रिय भएर लाग्नेछु ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री