ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्न जलासययुक्त आयोजना प्राथमिकतामा : ऊर्जामन्त्री

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्न जलासययुक्त आयोजना प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको बताएकी छन् । बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसंगको भेटमा मन्त्री भुसालले बूढीगण्डकी, दूधकोशी, नलगाढजस्ता जलासययुक्त आयोजना प्राथमिकतामा राखेको बताईन् ।

Advertisement

मन्त्री भुसालले जलविद्युत् स्वच्छ ऊर्जा भएकाले यसको प्रवद्र्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको बताईन् ।

महासागरका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र बढ्दो भूमण्डलीय तापक्रम वृद्धि नियन्त्रण गर्नका लागि हिमालयको महत्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले भनिन्, हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्दछौँ ।

सो अवसरमा मन्त्री भुसालले बेलायतीसंग पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहन सरकारको प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम्को प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

Advertisement

बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गरिन् । त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताईन् ।

नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत् व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको उनले बताईन् । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उनले उल्लेख गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री