
काठमाडौं उपत्यकाको एउटा सांस्कृतिक शहर हो, कीर्तिपुर । यहाँ भक्तपुर र ललितपुरमा जस्तै नेवार समुदायको बाक्लो बस्ती छ ।
कीर्तिपुरमै बसेर पुस्तौ पुस्ता व्यतित गरेका रैथाने नेवार समुदायका सयौं व्यक्तिहरुसँग अहिले पुस्तेनी सम्पत्तीबाट आएको एक/डेढ आना जग्गा मात्रै बाँकी छ । २ मिटर पनि चौडाइ नभएको जग्गामा २/३ तला उठाएर नाम मात्रैको घर बनेका छन् । तीन तलामा तीन ओटा कोठा निकाले पनि त्यो सबै जोड्दा एउटा ठूलो कोठा बराबरको क्षेत्रफल मात्रै होला । त्यहि घरमा उनीहरुका २/३ जनासम्म सन्तान पनि हुर्कीरहेका छन् ।
भोलि उक्त घरजग्गा २/३ भाग गर्नुपर्यो भने आधा आना भन्दा कम जग्गा मात्रै भाग पर्ने छ । एक जनालाई त्यहि घर छोडेर बाँकीले नयाँ घर बनाउनुपर्यो भने थप जग्गा किन्नै नसक्ने अवस्था छ । अहिलेकै जसरी घरजग्गाको मूल्य बढीरह्यो भने अवको १० वर्षपछि कसैले पनि जग्गा किनेर घर बनाउन सक्ने अवस्था नरहने यो क्षेत्रका जानकारहरु बताउँछन् ।
आजभन्दा १० वर्ष अघि कीर्तिपुरका छेउछाउँमा प्रतिआना ७०/७५ हजारदेखि एक लाख रुपैयाँसम्ममा जग्गा किन्न सकिन्थ्यो । बजार क्षेत्र वरपर पनि प्रतिआना २/३ लाख रुपैयाँभन्दा बढी मूल्य थिएन ।
तर अहिले कीर्तिपुरका कुना काप्चामा जाँदा पनि प्रतिआना २०/२५ लाख रुपैयाँ भन्दा घटीमा जग्गा किन्न पाइदैन । बजार क्षेत्रमा प्रतिआना ५०/६० लाख रुपैयाँ सामान्य भइसक्यो ।
यसै गरि घरजग्गाको मूल्य बढीरहने हो भने अवको १० वर्षपछि कीर्तिपुरको एउटा कुनामा एक आना जग्गा किन्न पनि एक करोड रुपैयाँ हाराहारी मूल्य पर्न सक्छ ।
१० वर्ष अघि न्युनतम तलव स्केल ८/१० हजार रुपैयाँ हुनेहरुको अहिले १५/२० हजार रुपैयाँ पुगेको छ । आगामी १० वर्षपछि त्यो न्युनतम तलव बढेर ५० हजार रुपैयाँ सम्म पुग्ला । विशेष क्षमता र दक्षता भएका केही व्यक्तिले शुरुमै मासिक एक लाख रुपैयाँ तलव आउने जागिर गर्न पनि सक्लान । तर त्यतिबेला मासिक एक लाख रुपैयाँ नै कमाए पनि आनाको एक करोड रुपैयाँ पर्ने जग्गा किन्न सकिन्छ त ?
यो त कीर्तिपुरको एउटा उदाहरण मात्रै हो । बाक्लो नेवार वस्ती भएका उपत्यकाका अरु ठाउँमा पनि अंशबण्डा गर्दै गर्दै एक आना जग्गामा बस्ने व्यक्तीहरुको संख्या बढ्दै गएको छ ।
अव भोलिका दिनमा नत एक आना जग्गामा ठूलो घर बनाएर मिलेर बस्ने सम्भावना हुन्छ, नत त्यसलाई बाँडेर आधा आधा गर्दा सानो घर बनाएर बस्ने सम्भावना हुन्छ । नत त्यो एक आना जग्गा बेचेर अर्को ठाउँमा दुई ओटा घर जग्गा जोड्न नै सकिन्छ ।
त्यसपछि के उनीहरुले सुकुम्बासी भयौं भनेर हात उठाउने ? कि आफ्नो धर्म, संस्कृति र इष्ट मित्र छोडेर उपत्यका बाहिरका कुनै गाउँमा गएर बस्ने ? वा आफ्नै इतिहास भएको शहरमा आगन्तुक जस्तै भाडामा बस्ने ?
यो समस्या अहिले उपत्यकामा मात्रै देखिएपनि भोलिका दिनमा उपत्यका बाहिरका शहर बजारमा पनि देखिने पक्का पक्की छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।










प्रतिक्रिया