शुक्रबार, १६ चैत २०८०

जंगलमा बस्तु चराउन गएकी १३ वर्षीया बालिका बलात्कृत

समयपोष्ट २०७४ फागुन १२ गते ४:१४

जंगलमा बस्तु चराउन गएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । जुगल गाउँपालिका–८ का ४५ वर्षीय शंखलाल तामाङबाट बालिका बलात्कृत भएकी हुन् । घरनजिकै जंगलमा एक्लै बस्तु चराइरहेको अवस्था पारेर तामाङले बालिकालाई जबर्जस्ती गरेका थिए । मुख र घाँटी थुनेर बलात्कार गरिएको पीडित बालिकाले बताएकी छिन् ।

Advertisement

कसैलाई भनेमा ज्यान मार्ने धम्की
कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएकाले पीडित बालिकाले परिवारका कुनै सदस्यसँग मुख खोलेकी थिइनन् । तर, दिनहुँ बिरामी पर्दै गएपछि उनले आफू बलात्कृत भएको आमालाई सुनाइन् । बलात्कार भएको डेढ महिनापछि उनले रुँदै आमासामु घटनाबारे भनेकी हुन् । जंगलमा चिच्याए पनि कसैले नसुनेकाले घन्टौँसम्म बलात्कार हुनुपरेको बालिकाको भनाइ उद्धृत गर्दै आमा श्रीमाया (नाम परिवर्तन)ले बताइन् ।

बलात्कार भएको केही दिनपछि नै बालिका बिरामी परेकी थिइन् । कक्षा आठमा पढ्ने छोरी विद्यालय जान नसक्ने भएर दिनहुँ ओछ्यानमा सुतिरहेको देखेपछि घरका सदस्यले कारण खोजी गरेका थिए । अरू कसैलाई भनेमा मारिदिने तामाङको धम्की र त्रासले बालिकाले घटनाबारे कसैलाई सुनाउन सकेकी थिइनन् । तामाङले दिनहुँजसो बालिकाको घरसम्म आएर घटना बाहिर आएमा ज्यान मार्ने धम्की दिने गरेका थिए ।

जलवीरे प्रहरीको बेवास्ता
१३ वर्षीया छोरी बलात्कार भएको थाहा पाएपछि न्याय खोज्दै श्रीमाया श्रीमान्सहित जलवीरे प्रहरीचौकी गुहार्न पुगे । तर, त्यहाँका प्रहरीले खासै चासो दिएनन् । ‘जलवीरे प्रहरीले जिल्ला जाऊ भन्यो, त्यसैले हामी जिल्ला प्रहरी कार्यालय आएका हौँ,’ ८ फागुनमा तामाङविरुद्ध किटानी जाहेरी दर्ता गरेर बाहिर निस्केका बालिकाका बाबुआमाले पीडा व्यक्त गर्दै भने ।

बलात्कृत बालिका अस्पताल भर्ना भएकी छिन् । आमाको भनाइअनुसार उनको शरीर निकै कमजोर छ । बलात्कार भएको हीनता र मनोवैज्ञानिक त्रासले बालिका बिरामी भएको आमाले सुनाइन् । बिरामी परेर सुतिरहेको अस्पतालको बेडमा पुग्दा पंक्तिकारसामु बालिका रोइरहेकी थिइन् । बलात्कार घटना बाहिर नलान पीडक तामाङले फोन गरेर धम्की दिइरहेको पीडित परिवारले बताए ।

कांग्रेसका स्थानीय एक नेताले घटना भित्रभित्रै मिलाउन दबाब दिएको र पीडकलाई संरक्षणसमेत गरेको श्रीमाया दम्पतीले आरोप लगाएका छन् । घटनामा संलग्न तामाङलाई यथाशीघ्र पक्रन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले घटना जघन्य र निन्दनीय भएको बताए । ‘दोषीलाई यथाशीघ्र पक्रन जुगल गाउँपालिकाको बराम्ची क्षेत्रमा प्रहरी परिचालन गरेका छौँ,’ उनले भने ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री