शनिबार, १५ वैशाख २०८१

कान्ति भैरव माध्यमिक विद्यालय पुनर्निर्माण सुरु, भारतीय दूतावास नियोग उप–प्रमुखद्वारा भूमि पूजन

समयपोष्ट २०७७ फागुन ६ गते १६:०२

Advertisement

काठमाडौंको कागेश्वरी नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालय पुनर्निर्माणका लागि भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितीमा भूमि पूजन कार्यक्रम सम्पन्न भएको हो । उक्त बिद्यालय भारत सरकारको सहयोगमा पुर्ननिर्माण हुँदैछ ।

नेरु. २६.६ करोडको लागतमा पुनर्निर्माण भइरहेको श्री कान्ति भैरव माध्यमिक विद्यालय नेपाल सरकारले तोकेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुनेछ ।

यस नवनिर्मित तीन तल्ले भवनमा ३० वटा कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला÷अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको व्यवस्था हुनेछ । आजको भुमि पुजन कार्यक्रममा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा श्री कान्ति भैरव विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

सोही अवसरमा नेरु. ५१.८ करोडको लागतमा ६ वटा माध्यमिक विद्यालयको निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच एक सम्झौतापत्रमा हस्ताक्षर भयो । ६ वटा विद्यालय मध्य कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय गरी चारवटा विद्यालयहरु काठमाडौं जिल्लामा पर्दछन् भने बाँकी दुईवटा सिद्घेश्वर माध्यमिक विद्यालय र हरिसिद्घि माध्यमिक विद्यालय काभ्रे जिल्लामा पर्दछन् ।

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख नामग्य सी. खम्पाले भारत र नेपालबीचको बलियो र सशक्त विकास साझेदारी यस परियोजना शुभारम्भ कार्यक्रमले चरितार्थ गरेको बताउनुभयो । नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासमा नेपाल सरकार तथा यसका निकायहरुसँग हातेमालो गर्दै दुई देशबीचको सहकार्यलाई अघि बढाउन भारत सदैव प्रतिबद्ध रहेको जानकारी नियोग उप–प्रमुखले गराउनुभयो ।

शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । भारत सरकारले शिक्षा क्षेत्रका लागि मात्र ५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण भइरहेको छ । गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालयहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ५६ वटा विद्यालयहरु निर्माणाधीन अवस्थामा छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आव्हान सम्बन्धी कार्य पनि अघि बढाइएको छ ।

यी विद्यालयहरुको निर्माणका लागि केन्द्री यभवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री