४८% सम्म मूल्यवृद्धि

खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ ।

Advertisement

प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि उच्च थियो । मसलाको मूल्यवृद्धि दर १५.०६ प्रतिशत बढेको छ । अघिल्लो वर्षको पुससम्म यस्तो मूल्यवृद्धि २.६६ प्रतिशत मात्र थियो । दलहन र रक्सीजन्य पेय पदार्थको मूल्यवृद्धि दर १०/१० प्रतिशत बढेको छ । गत वर्षको पुसमा दलहन वस्तुको मूल्यवृद्धि दर ६.०४ प्रतिशत घटेको थियो भने र रक्सीजन्य पेयमा करिब १२ प्रतिशत बढेको थियो । यस वर्ष समग्र मूल्यवृद्धि दर ६.८२ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो वृद्धिदर ४.५८ प्रतिशत थियो ।

भारतमा खाद्य वस्तुको मूल्य उच्च भएकाले नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । खडेरीका कारण पछिल्ला महिनामा भारतमा तरकारीको मूल्य अकासिएको छ । ‘नेपालको मूल्यवृद्धि आयातित हो,’ भट्टले भने, ‘यस्तो मूल्यवृद्धि नियन्त्रणका लागि आन्तरिक उत्पादन बढाउनुपर्छ ।’

नेपालको दुई तिहाइ व्यापार भारत केन्द्रित रहेकाले त्यहाँको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव यता पर्छ । ‘पछिल्ला महिनामा आयात बढ्दो छ, धेरै आयात भारतबाटै हुन्छ,’ भट्टले भने, ‘भारतमा मूल्यवृद्धि तत्काल घट्ने सम्भावना छैन । आगामी दिनमा पनि नेपालको मूल्यवृद्धि दबाबमा रहन सक्छ ।’

गत पुसमा भारतमा मूल्यवृद्धि दर ७.५९ प्रतिशत छ । अघिल्लो वर्षको त्यही अवधिमा त्यहाँ मूल्यवृद्धि दर २.०५ प्रतिशत थियो । गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.६५ र गैरखाद्य समूहको ६.११ प्रतिशत थियो । दैनिक उपभोग्य खाद्यको तुलनामा गैरखाद्य वस्तुको मूल्य भने कम मात्र बढेको छ ।

Advertisement

पुसमा लुगा तथा जुत्ताको मूल्यवृद्धि ५.४४ प्रतिशत, घरायसी सामग्रीको ३.३८ प्रतिशत र शिक्षाको ५.९४ प्रतिशत बढेको छ । ‘गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा, जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ,’ प्रतिवेदनमा भनिएको छ । ०७५ पुसमा लुगा तथा जुत्ताको मूल्यवृद्धि ६.९४, घरायसी सामग्रीको ८.३५ र शिक्षाको ४.८१ प्रतिशत थियो । ‘गत पुससम्म खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १०.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.२५ प्रतिशत छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

चालु आवको पहिलो ६ महिनासम्म सबैभन्दा धेरै ७.७४ प्रतिशतले तराईमा बजार भाउ बढेको छ । त्यसपछि काठमाडौं उपत्यकामा ७.२४, पहाडमा ५.३९ र हिमालमा ५.०१ प्रतिशत मूल्य बढेको राष्ट्र बैंकको तथ्यांक छ । ०७५ पुसको तुलनामा हिमाल, पहाड, तराई र काठमाडौं उपत्यकामा मूल्यवृद्धि दर बढेको हो । यसले सरकारद्वारा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा पनि असर पर्ने देखिन्छ । यो वर्ष सरकारले साढे ८ प्रतिशतले आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । यो लक्ष्य प्राप्तिका लागि सरकारी खर्च बढाउनुपर्नेछ र त्यसले मूल्यवृद्धिमा झनै दबाब पर्नेछ ।आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री