गैरकानूनीरूपमा सम्पत्ति जोडेको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement

आयोगले गैरकानूनी रूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ ।

विमानस्थल, भन्सार कार्यालय, काठमाडौँबाट अवैधरूपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धानका क्रममा श्रेष्ठ २०७३ पुस २७ गतेदेखि निलम्बनमा समेत हुनुहुन्छ ।

अकुत सम्पत्ति जोडेको अभियोगमा आयोगले अनुसन्धान गर्दा श्रेष्ठले बुबा ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण, भाइबुहारी रवीना प्रधानाङ्ग, श्रीमतीद्वय तारादेवी र रेखाको नाममा समेत लुकाएको पाइएकाले उहाँहरू विरुद्ध समेत मुद्दा दायर गरेको छ । आयोगले उहाँहरूको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार श्रेष्ठको २०५३ साल चैत ५ देखि अनुसन्धान अवधिसम्म पारिश्रमिक बचत रु १८ लाख १६ हजार ९४८, सगोलका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रु तीन करोड ४७ लाख ७६ हजार ४३९ रहेको छ । यस्तै परिवारका अन्य सदस्यले गरेको वैधानिक आम्दानी रु नौ करोड ६३ लाख आठ हजार ८२८ रहेको छ ।

Advertisement

यस्तै श्रेष्ठको खर्च तथा लगानीतर्फ रु १९ करोड ७४ लाख ५५ हजार ८१६ रहेको छ । कूल आम्दानी रु नौ करोड ६३ लाख आठ हजार ८२८ रहेको भए पनि रु १० करोड ११ लाख ४६ हजार ९८८ तथा स्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ गरेको रु चार करोड ४९ लाख ७७ हजार ४९० समेत अवैध रहेको पाइएको छ । दुवै रकम जोड्दा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको आयोगले जनाएको छ ।

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र बदनीयत साथ राखेको देखिन आएकाले आयोगले स्रोत नखुलेको चल अचल सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री