पाँचथर पावर कम्पनीको आइपिओ आजबाट खुल्यो
पाँचथर पावर कम्पनीले आजबाट साधारण सेयर जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ९ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर जारी गरेको हो ।
यसका लागि माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ । पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ, फालेलुङ गाउँपालिकाका स्थानीयले यस सेयरमा आवेदन दिन पाउनेछन् ।
आईपिओमा स्थानीयहरुले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि ९ हजार ६२० कित्ता अर्थात ९ लाख ६२ हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको साधारण सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आयोजना प्रभावित स्थानीयले पाँचथरमा रहेको कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्सको शाखाबाट आवेदन दिन सक्नेछन् ।
यस्तै आयोजनाको कार्यलयबाट पनि सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । तोकिएको समयमा आवेदन नपरेको अवस्थामा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
यो आइपिओका लागि केयर रेटिङले ग्रेड ४ रेटिङ दिएको छ । पाँचथर पावरको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । साधारण सेयरको लगानी फिर्ता हुन ८.९४ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया