बिहीबार, १३ वैशाख २०८१

संस्थागत सुशासन कुनै पनि बैंक वा वित्तिय संस्थाको मेरुदण्ड हो 

समयपोष्ट २०७३ माघ १४ गते ५:४८

स्टान्डर्ड चार्टर बैंक नेपालको पछिल्लो वित्तिय अवस्था कस्तो छ ?

Advertisement

यस बैंकको वित्तिय अवस्था अब्बल रहेको जानकारी गराउन पाउँदा खुसी छु । कुनै पनि बैंक वा वित्तिय संस्थाको अवस्था यसको वित्तिय सूचकांकहरूले दिने गर्छन् । यस सन्दर्भमा मैले पनि त्यही उल्लेख गर्न खोजेको हुँ । हाम्रो पछिल्लो सार्वजनिक भएको त्रैमासिक वित्तिय अवस्था हेर्नुभयो भने यहाँले पुँजी पर्याप्तता १६.५३%, खराब कर्जाको अंश (कुल कर्जामा) ०.३१%, कर्जा/निक्षेप अनुपात ७२.०४% तथा अन्य मुख्य सूचकांकहरूजस्तै इपीएस ४९.७०, पिइ रेसियो ७४.४५, आर ओ इ १७.६४, एवम् नेट वर्थ पर सेयर २८१.७१ छन् । यी सबैले के जनाउँछन् भने हामी वित्तिय सबलताका हकमा अत्यन्तै मजबुत स्थितिमा छौं। हामी आफ्नो वासलातलाई अझ बढी सबल र सक्रिय बनाई हाम्रो वित्तिय मजबुतीलाई अझ बढी सक्षम र प्रतिस्पर्धी बनाउन चाहन्छौं। 

आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा बैंकको खुद मुनाफा क्रमशः दुई करोड र ३ करोड रुपैयाँले घटेको छ, पछिल्लो समयमा 
अरू बैंकको तुलनामा किन धेरै राम्रो परफमेन्स नदेखिएको होला ?

आजको दिनबाट पछाडि फर्केर हेर्नुपर्दा विगतका २०/२२ महिना अत्यन्तै चुनौतीपूर्ण थिए भन्ने मलाई लाग्छ । २०७२ वैशाखको भूकम्प, संविधान जारी हुनुअघिको राजनीतिक तरलता एवम् संविधान जारी भएपछि भारतसित जोडिएका सीमानाकाका अवरोध र यसले पुर्याएका असरहरू हामी सजिलै बिर्सन सक्दैनौं । यस दौरानमा हामी हरेकले व्यक्तिगत रूपमा मात्र कठिनाइ बेहोर्नुपरेन बल्की यसले समग्र व्यापार व्यवसायमा समेत गहिरो असर परेको देखिन्छ । यस समयमा, जब देशको आर्थिक वृद्धि अत्यन्त न्यून रह्यो, बैंकिङ व्यवसाय पनि असरभागी हुनु स्वाभाविकै हो र यस समयमा हाम्रो वासलातको स्वरूप र नाफामा असर आउनु हामीले एकदमै स्वाभाविक ठानेका छौं किनकि बैंक तथा वित्तिय संस्थाको प्रदर्शन यी र यस्तै वातावरणबाट समग्रमा प्रभावित हुने गर्छ, यो विश्वव्यापी तथ्य हो । मैले यस बैंकको प्रदर्शनको बारेमा कुरा गरेको हुँ, अन्य बैंकको कुरा हो भने त्यसबारे म नबोलौं । 

भर्खरमात्र बोनस सेयर दिनुभयो, अब एफपिओको तयारीमा हुनुहुन्छ, त्योबाहेक २०७४ असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजीकसरी पुर्याउनुहुन्छ ?

२०७४ असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउने सम्बन्धमा बैकले स्पष्ट कार्ययोजना सार्वजनिक गरिसकेको र आवश्यकताअनुरूप नियामक निकायमा पनि भावी कार्ययोजना पेस गरिसकेको अवस्था छ । बैंकको ३०औं वार्षिक साधारणसभा, जसले फर्दर पब्लिक अफरिङ (एफपिओ) निष्कासनसम्बन्धी भावी योजनालाई स्वीकृत गरिसकेका कारण अब हामी तदारुकतासाथ एफपिओ निष्कासनसम्बन्धी प्रारम्भिक कार्यविधिमा प्रवेश गरेका छौं।
आव २०७२/०७३ को नाफाबाट जारी हुने बोनस सेयर पछि बैंकको कुल चुक्ता पुँजी ३ अर्ब ७५ करोड हुन आउँछ । हामीले ३ अर्ब ३० करोडको एफपिओ जारी गर्दै छौं। ०७३/७४ को नाफाबाट १ अर्ब बोनस जारी गर्ने भावी योजना रहेको छ । यसरी २०७४ को असार मसान्तसम्म बैंकले ८ अर्ब ५ करोडबराबरको चुक्ता पुँजी कोष खडा गरिसकेको हुनेछ । 
एकातिर बैंकहरू धमाधम चुक्ता पुँजीबढाउने अभियानमा छन् तर पुँजीको अनुपातमा ऋण विस्तार गर्ने अवसर नहुँदा त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ भनिन्छ, के लाग्छ, यहाँलाई ?

बैंक तथा वित्तिय संस्थाहरूको पुँजी वृद्धिको सही उपयोग होस् भन्ने नै अहिले सबैको चासो र चिन्ताको विषय हो । यसका लागि आर्थिक क्रियाकलापहरूको सृजना हुनु अपरिहार्य छ । यदि देशमा आर्थिक क्रियाकलापहरू सोचेजस्तो रूपमा अगाडि बढ्न नसकेको खण्डमा पुँजी वृद्धिबाट उपलब्ध हुने स्रोत देशको समग्र आर्थिक क्रियाकलापलाई टेवा नपुग्ने क्षेत्रमा लगानी हुने सम्भावना हुन्छ । यसले देशको समग्र अर्थतन्त्रमा रोजगारी, पुँजी परिचालन एवम् उत्पादनमुखी क्रियाकलापमा खासै मद्दत पुर्याउँदैन । बैंक तथा वित्तिय संस्थाहरूको पुँजी वृद्धिले यस्ता संस्थाहरूलाई थप कर्जा प्रदान गर्नुपर्ने बाध्यता सृजना गर्छ र यसरी प्रवाह हुने कर्जाहरू गुणस्तरीय छन् वा छैनन् एवम् उत्पादनमुखी क्रियाकलापमा यस्ता कर्जा प्रवाह हुन्छन् वा हुँदैनन् भन्ने नै अहिलेको चासो र चिन्ताको विषय हो । अर्थतन्त्र चलायमान रहेको अवस्थामा भने लगानीका प्रशस्त सम्भावनाहरू उजागर हुने गर्छन् । 

चुक्ता पुँजीवृद्धिलाई यसरी बाध्यकारी बनाइनु तपार्इंको विचारमा कत्तिको उचित हो ?

नियामक निकायहरूले आवश्यकता एवम् बजारको मूल्यांकन गरेर नै यो प्रावधान लागू गरेको हुनुपर्छ । बैंकहरू सक्षम समृद्ध र सानातिना सकसलाई सजिलै ग्रहण÷वहन गर्न सक्षम हुनुपर्छ भन्ने लाग्छ । निक्षेपकर्ताको रकमलाई परिचालन गरी नाफा कमाउने उद्देश्यले सञ्चालनमा रहेका बैंक एवम् वित्तिय संस्थाहरूले निक्षेपकर्ताको हितलाई सर्वाेपरि ठानेर लगानीको योजना तय गर्नुपर्ने हुन्छ । कमजोर पुँजी कोष रहेमा यस्ता संस्थाहरूको वित्तिय सबलता सामान्यतया नाजुक हुने गर्छ र पुँजीकोषको समृद्धिले यस्ता संस्थाहरूलाई मजबुत तुल्याउन धेरै मात्रामा सहयोग पुग्छ तर जे–जस्तो स्थितिमा पनि संस्थागत सुशासन कुनै पनि बैंक वा वित्तिय संस्थाको मेरुदण्ड हो र यो पाटो पनि हामीले बिसर्नुहुँदैन । 

diwakar paudel 1

अहिले देखिएको तरलता अभावलाई कसरी हेर्नुभएको छ ?

मेरो विचारमा बैंकहरूसँग मौज्दात नरहेको स्थिति भने हैन तर बैंकहरूको क्रेडिट टु डिपोजिट एन्ड क्यापिटल (सिडिसी) को अनुपात नेपाल राष्ट्र बैंकले तोकेको ८०% को हाराहारीमा रहेको अवस्था हो । बैंकहरूले आफ्नो सिडिसीको कुल ८०% भन्दा माथि लगानी गर्न नपाउने प्रावधान छ, अहिले निजी क्षेत्रका बैंकहरूलाई नेराबैंको यो निर्देशन पालना गर्नेक्रममा बजारमा रहेको कर्जाको माग सम्बोधन गर्न अप्ठ्यारो परेको हो । यसलाई अल्पकालीन मिसम्याच हो भन्ने बुझ्दा पनि हुन्छ । 
केही बैंक वा वित्तिय संस्थाले निक्षेपमा भनेजस्तो वृद्धि गर्न नसकेकाले कर्जाको प्रवाहमा कमी आएको हो । सरकारी विकास एवम् पुँजीगत खर्चको पनि उल्लेख्य वृद्धि हुन सककेको छैन यदि यो भइदिएको भए सरकारी ढुकुटीबाट रकम बजारमा आई तरलताको अभिवृद्धिमा सघाउ पुग्ने थियो । बैंक तथा वित्तिय संस्थामा ब्याजदरको अभिवृद्धिले यो समस्या समाधान गर्न केही सहायता गर्छ । बढ्दो आयातमुखी अर्थतन्त्रले पनि तरलताको संकुचनमा भूमिका खेलेकोजस्तो लाग्छ ।
सस्तो ब्याजदरले गर्दा चरम पैसाको दुरुपयोग भयो, अहिलेको तरलता अभाव त्यसैको प्रतिविम्बन हो पनि भन्ने गरिन्छ, के लाग्छ तपाईंलाई ?
बैंकहरूलाई लगानी बढाउनुपर्ने बाध्यता सृजना भयो भने प्रवाह हुने कर्जाको गुणस्तरमा असर पर्न जाने सम्भावना निश्चय नै हुन्छ । अनुत्पादक क्षेत्रमा हुने लगानीले कृत्रिम रूपमा यस्ता क्षेत्रको बजार मूल्य बढाउन जाने सम्भावना पनि उत्तिकै हुन्छ । मलाई लाग्दैन कि अहिलेको तरलता अभाव यसैबाट सृजना हुन गएको हो, यसको कारण मैले योभन्दा अघिको जवाफमा उल्लेख गरिसकेको छु । 

क्यामेल्स रेटिङमा सबैभन्दा अग्रस्थानमा देखिएको छ, बैंकका आगामी योजना के छन् ?

हामी लगातार दोस्रो वर्ष नियमनकारी निकायले तयार गर्ने क्यामेल्स रेटिङको बरीयताक्रममा उच्च बिन्दुमा रहेका छौं । यो हाम्रो वासलात वा नाफा नोक्सानको आकारमा भन्दा पनि बैंकको वित्तिय अवस्थाको प्रतिविम्ब हो । यसले यो बैंक सुशासनलगायत अन्य मापदण्डहरूमा कत्तिको सबल एवम् सुदृढ छ भन्ने देखाएको छ । हामी नियमनकारी निकायबाहेक अन्य कतिपय राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा विगतदेखि नै सम्मानित हुँदै आएका छौं, यो हाम्रो प्रदर्शन, वित्तिय अवस्था एवम् सुशासनको परिणामस्वरूप हो । यसरी पाउने सम्मानहरूले हामीलाई अझ बढी सबल एवम् उत्कृष्ट हुनका लागि प्रोत्साहित गर्छ । हामी निरन्तर रूपमा आफ्नो अलग्गै पहिचान बनाई आफ्नो व्यवसायलाई अझ विस्तार गर्न लागिपरेका छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री