शुक्रबार, १४ वैशाख २०८१

दार्चुलास्थित लटिनाथ माविको भवन बनाउन भारतीय दुताबासले दियो दुई करोड ६० लाख

समयपोष्ट २०७३ माघ १२ गते ६:५९

दार्चुलास्थित लटिनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गर्न भारत सरकारले दुई करोड ६० लाख सहयोग उपलब्ध गराउने भएको छ । 
शुक्रावार भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, दार्चुलाका स्थानीय विकास अधिकारी सहदेव रायमाझी र विद्यालयका प्रधानाध्यापक केशवराज विष्टबीच गत शुक्रबार त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
दार्चुलाको रिठाचौपाटामा सन् १९५५ मा प्राथमिक स्कुलको रूपमा स्थापित लटिनाथ विद्यालयलाई सन् २००८ मा माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो । निकै वर्ष पुरानो विद्यालय भवनको संरचना समयसुहाउँदो र विद्यार्थीको चाप थेग्न नसक्ने अवस्थामा रहेको परिवेशमा भारत सरकारको सहयोगमा नयाँ बन्ने भवनले त्यहाँ अध्ययनरत करिब नौ सय छात्रछात्रा र शिक्षकलाई निकै सुविधा उपलब्ध गराउने अपेक्षा स्थानीय अभिभावकले गरेका छन् । 
सहयोगसम्बन्धी सम्झौतापत्रमा आगामी पन्ध्र महिनाभित्रै विद्यालय भवन बन्नुपर्ने उल्लेख भएबाट लटिनाथ माविले हालको दुरावस्थाबाट छिट्टै त्राण पाउने विश्वास एकातिर लिइएको छ भने अर्कोतिर विद्यालयको सुविधाजनक माहोलका कारण अध्ययन–अध्यापनमा पनि विगतको तुलनामा प्रगति हासिल हुने अनुमान गरिएको छ । यसका लागि स्थानीय अभिभावकले भारत सरकारप्रति कृतज्ञता प्रकट गरेका छन् ।
दार्चुलामा यसअघि भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत दुई आयोजना सम्पन्न भइसकेका र करिब एघार करोडका चार परियोजना निर्माणाधीन छन् । जिल्लावासीलाई स्वास्थ्यसेवा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले दुईवटा एम्बुलेन्स पनि भारतले उपहारस्वरूप प्रदान गरेको छ ।
यसअघि पाल्पाको एक विद्यालयलाई भारतीय राजदूतावासले एउटा बस सहयोग गरेको छ । 
रामपुर पाल्पास्थित भूपू सैनिक राइजिङ इंग्लिस स्कुललाई उपहारस्वरूप ३३ सिट क्षमताको बस प्रदान गरिएको हो । टाढाका विद्यार्थीलाई दैनिक आवतजावत गर्न समस्या भएको भन्दै विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, शिक्षकलगायतको अनुरोधपछि सो विद्यालयलाई बस सहयोग गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री