
रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गर्न लागिएको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको छ । जसमध्ये २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो । यसमा ११ लाख ८५ हजार कित्ता स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ ।
अब बाँकी रहेको शेयरमध्ये २८ हजार ४४० कित्ता कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि भने ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर (११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबर) निष्काशन गरिनेछ । प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । निष्काशन अवधि माघ २८ देखि सुरु भई छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गतेसम्म कायम रहनेछ ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले सञ्चालनमा ल्याएको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ छ । आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ११ महिना बाँकी रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना र डिस्काउन्टेड लगानी फिर्ता अवधि १० वर्ष ९ महिना रहेको छ । यो आयोजना २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादनमा गएर राष्ट्रिय प्रसारण लाइनमा जडान भई विद्युत बिक्री भइरहेको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन् ।










प्रतिक्रिया