यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल जफत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मार्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी ठूलो भ्रष्टाचार प्रकरणमा अनुसन्धान अघि बढाएको छ। आयोगको टोलीले आज कार्यालय प्रमुखसहित विभिन्न कर्मचारी तथा बिचौलियाका मोबाइल फोन र सम्बन्धित कागजातहरू बरामद गरेको छ।

Advertisement

आयोगले जारी गरेको विज्ञप्तिअनुसार यातायात व्यवस्था कार्यालय चाबहिलमा कार्यरत कार्यालय प्रमुख अधिकृत पेशल कुमार पोखरेलसहित सोही कार्यालयका १७ जना कर्मचारीका २५ थान मोबाइल फोन बरामद गरिएको छ। त्यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित ३ जनाका ३ थान मोबाइल फोन र नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाको १ थान मोबाइल फोन पनि जफत गरिएको छ।

Advertisement

अनुसन्धानका क्रममा आयोगले लिखित परीक्षा दिई अनुतीर्ण भएको मितिले ३ महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीका उत्तरपुस्तिका लगायत सम्बन्धित कागजातहरू पनि बरामद गरेको छ।

आयोगका अनुसार कार्यालय प्रमुख पोखरेलसहित कर्मचारीहरूले बिचौलियामार्फत लिखित परीक्षामा फेल भएका सेवाग्राहीहरूलाई खोजी गरी सम्पर्कमा ल्याउने र प्रत्येक व्यक्तिबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम असुली गर्ने गरेको उजुरी तथा सूचनाको आधारमा छानबिन सुरु गरिएको हो। अनुतीर्ण भएको ३ महिनाको अवधि नपुग्दै पुनः आवेदन दर्ता गराई परीक्षामा सहभागी गराउने र पास गराउने कार्यमा संलग्न रहेको भन्दै आयोगले यो प्रकरणमा अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री