
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ-१ की उम्मेदवार आशिका तामाङविरुद्ध परेको उजुरी निर्वाचन कार्यालयले दर्ता गर्न अस्वीकार गरेको छ । तोकिएको समयसीमा सकिएपछि प्रमाणबिनाको उजुरीलाई कार्यालयले फिर्ता गरिदिएको हो ।
धादिङ निर्वाचन कार्यालयका स्रोतका अनुसार, उजुरीकर्ताले आशिका तामाङसँग जर्मनीको स्थायी आवासीय अनुमति (पीआर) रहेको भन्दै उनको उम्मेदवारी अयोग्य हुने दाबी गरेका थिए । तर, उजुरीमा त्यस्तो दाबीलाई पुष्टि गर्ने कुनै ठोस प्रमाण प्रस्तुत गरिएको थिएन ।
स्रोतले बताएअनुसार, आशिकासँग जर्मनीको ‘पीआर’ (पर्मानेन्ट रेजिडेन्सी) नभई ‘टीआर’ (टेम्पोरेरी रेजिडेन्सी भिसा) मात्र थियो, जुन अहिले निष्क्रिय भइसकेको छ । जर्मनीको नियमअनुसार यस्तो भिसा ६ महिनाभन्दा बढी समय देशबाहिर बसेमा स्वतः निष्क्रिय हुन्छ । आशिका लामो समयदेखि नेपाल र जर्मनीबीच आउजाउ गरिरहेकी थिइन्, तर पछिल्लो पटक ९ महिनाभन्दा बढी नेपालमै बसेकी छन् । यसकारण उनको टीआर कार्ड खारेज भइसकेको छ ।
आशिका तामाङले जर्मनीमा बसेर त्यहाँका नागरिकसँग विवाह गरेकी छन् र उनीहरूका दुई सन्तान छन् । उनले भने नेपालको नागरिकता र पासपोर्ट कहिल्यै त्यागेकी छैनन् । मनोनयन दर्ता गर्नुअघि नै उनले निर्वाचन आयोगमा पुगेर सम्बन्धित कागजातसहित यो विषय स्पष्ट पारिसकेकी थिइन् । आयोगका अधिकारीहरूले उनको टीआरले उम्मेदवारीमा कुनै बाधा नपुग्ने बताएका थिए ।
आशिका अब स्थायी रूपमा नेपालमै बस्ने गरी जर्मनीबाट फर्किएकी छन् । उनका दुवै सन्तान दुई वर्षअघि नै नेपाल ल्याइसकिएका छन्, भने उनका श्रीमान् जर्मनीमै छन् । आवश्यक परे जर्मनी जान नयाँ भिसा लिनुपर्ने अवस्था छ ।
नेपालको संविधानको धारा २९१ मा विदेशको स्थायी आवासीय अनुमति लिएका नेपाली नागरिकलाई निर्वाचन वा नियुक्तिको पदमा योग्य नहुने व्यवस्था छ । तर, त्यस्तो अनुमति त्यागेपछि कम्तीमा तीन महिना बितेमा योग्य हुने प्रावधान पनि छ । आशिकाको अवस्थामा स्थायी अनुमति नभएकाले यो प्रावधान लागू नहुने देखिन्छ ।
धादिङ निर्वाचन अधिकृत एकराज अधिकारीले नेपाल प्रेससँग कुरा गर्दै आशिका तामाङविरुद्ध कुनै उजुरी दर्ता नभएको पुष्टि गरेका छन् ।
आशिका तामाङ सामाजिक अभियान्ताको रूपमा परिचित छन् । उनले सरसफाइ, गरिब तथा दुःखीहरूको सहयोग, जेनजी आन्दोलनमा घाइतेहरूलाई अस्पताल तथा घरमै पुगेर सहायता गरेर प्रशंसा कमाएकी थिइन् ।










प्रतिक्रिया