
मोबाइल बजारमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस) मा करिब ३२ अर्ब ६१ करोड रुपैयाँ बराबरको मोबाइलको कारोबार भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो ।
भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १२ लाख ५२ हजार वटा मोबाइल आयात भएका छन् । यिनको भन्सार मूल्य मात्रै २३ अर्ब २९ करोड रुपैयाँ रहेको छ । नेपाली बजारमा बिक्री हुँदा यो मूल्यमा करिब ४० प्रतिशतसम्म थप मूल्य (मार्जिन, कर, ढुवानी आदि) जोडिएपछि कुल कारोबार ३२ अर्ब नाघेको हो । यसमा थपिएको रकम मात्रै करिब ९ अर्ब ३१ करोड रुपैयाँ छ ।
राज्यले यी आयातित मोबाइल (मुख्यतः स्मार्टफोन) बाट मात्रै ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । मोबाइलमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत अन्तःशुल्क लाग्ने गर्छ । आयातकर्ताले एकमुष्ट रूपमा १८.६५ प्रतिशतसम्म राजस्व तिर्नुपर्छ । त्यसपछि होलसेल, रिटेल मार्जिन जोडिँदा उपभोक्तासम्म पुग्दा आयात मूल्यमा ४० प्रतिशत सम्म थप हुने गरेको नेपाल मोबाइल आयातकर्ता संघले बताएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा भने ११ लाख ११ हजार वटा स्मार्टफोन आयात भएका थिए । त्यसको भन्सार मूल्य १६ अर्ब ७१ करोड थियो । बजारमा थप मूल्य जोड्दा कुल कारोबार २३ अर्ब ३९ करोड रुपैयाँ पुगेको थियो । यस वर्षको वृद्धि दरले नेपालमा स्मार्टफोनको माग लगातार बढिरहेको देखाउँछ ।
पछिल्लो समय महँगा स्मार्टफोनको प्रयोग बढेसँगै आयात पनि बढेको छ । यो वर्षको मंसिरसम्म गत वर्षको सोही अवधिभन्दा १ लाखभन्दा बढी स्मार्टफोन थप आयात भएको छ । व्यवसायीका अनुसार अहिले २०–२५ हजारदेखि ३०–३५ हजार मूल्य रेन्जका मोबाइलको खपत धेरै छ । औसतमा २५–३० हजार रुपैयाँका स्मार्टफोन मासिक बिक्रीमा प्रमुख रहेको तथ्यांकले देखाएको छ ।










प्रतिक्रिया