
सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ ४ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि यो आईपीओ ल्याएको हो।
कम्पनीको कुल जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ। यसमा २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। जसमध्ये १ करोड कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र १० लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।
अब दोस्रो चरणमा ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरिएको छ। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। पूर्ण आवेदन प्राप्त भएमा आजै बन्द हुने र अन्यथा आवश्यकता अनुसार माघ १४ गतेसम्म लम्बिन सक्ने व्यवस्था रहेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी (IRN Double B) इस्यूअर रेटिङ प्रदान गरेको छ जसले दायित्व भुक्तानी क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ अनुमान गरिएको छ। यो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २५ वर्ष बाँकी रहेको छ। साधारण आधारमा लगानी फिर्ता हुने अवधि ७.६८ वर्ष र डिस्काउन्टेड आधारमा १२.०९ वर्ष रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेडले लिएका छन्। इच्छुक लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट सी–आस्बा प्रणालीमार्फत वा सिडिएस्सीको मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
यो आईपीओले जलविद्युत क्षेत्रमा लगानीका लागि नयाँ अवसर प्रदान गर्दै नेपालको ऊर्जा विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ। समयसीमाभित्र आवेदन दिन नबिर्सनुहोस्। थप विवरणका लागि कम्पनीको आधिकारिक सूचना, नबिल इन्भेष्टमेन्ट बैंकिङ वा सम्बन्धित निकायसँग सम्पर्क गर्न सकिन्छ।










प्रतिक्रिया