उम्मेदवार छनोटप्रति एमालेमा चर्को असन्तुष्टि,  योगेशले लेखे ‘नोट अफ डिसेन्ट’

नेकपा (एमाले)मा उम्मेदवार छनोट प्रक्रियाप्रति चर्को असन्तुष्टि देखिएको छ।

Advertisement

शनिबार करिब ८ घण्टा लामो बसेको पार्टी सचिवालय बैठकमा स्पष्ट मापदण्डबिना उम्मेदवारहरूको छनोट गरिएपछि उपमहासचिव योगेश भट्टराईले तीव्र असन्तुष्टि जनाउँदै बैठक छोडेका छन्। उनले तीन बुँदे नोट अफ डिसेन्ट लेखेर आइतबार पार्टी कार्यालयमा बुझाउने तयारी गरेका छन्।

स्रोतका अनुसार, अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मनपरी ढंगले उम्मेदवारहरू तय गरेको भन्दै भट्टराईले विरोध गरेका हुन्। बैठकमा भट्टराईलाई ताप्लेजुङबाट टिकट नदिने संकेत गर्दै ओलीले बोलेपछि उनले आफ्नो संसदीय भूमिका राम्रो रहेको र विगतमा पनि प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रश्न उठाएका थिए। तर अध्यक्षबाट सकारात्मक जवाफ नआएपछि असन्तुष्टि झन् बढेको बताइएको छ।

Advertisement

एक सचिवालय सदस्यका अनुसार, ११औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूलाई ‘कर्नर’ पार्ने प्रयास देखिएको छ। यसमा योगेश भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा जस्ता नेताहरूप्रति ओली पक्ष अनुदार देखिएको छ।

शनिबारको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाए पनि केही महत्वपूर्ण तथा रणनीतिक क्षेत्रहरूमा निर्णय स्थगित गरेको छ। अध्यक्ष ओलीले नै यस्ता क्षेत्रहरूमा अन्तिम टुंगो लगाउने बताइएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार, कुल १६५ निर्वाचन क्षेत्रमध्ये धेरैजसोमा सहमति जुटे पनि केहीमा रणनीतिक कारण (अन्य दलसँग तालमेल वा प्रभावशाली व्यक्तिको प्रवेश) ले घोषणा ढिलो गरिएको छ।

बाँकी रहेका प्रमुख क्षेत्रहरू यस प्रकार छन्:

  • काठमाडौँ → क्षेत्र नं. ४, ५, ७ र ९ (कुल १० मध्ये ६ मा मात्र टुंगो)
  • ललितपुर → क्षेत्र नं. ३
  • काभ्रेपलान्चोक → क्षेत्र नं. २ (पहिले गोकुल बास्कोटा निर्वाचित)
  • मधेस प्रदेश → महोत्तरी क्षेत्र नं. ३, सर्लाही क्षेत्र नं. १ र २, पर्सा क्षेत्र नं. १ र २
  • लुम्बिनी प्रदेश → रुपन्देही क्षेत्र नं. १ र २, कपिलवस्तु क्षेत्र नं. २, दाङ क्षेत्र नं. १ र २, बाँके क्षेत्र नं. २
  • कर्णाली प्रदेश → रुकुम पूर्व
  • कोशी प्रदेश → ताप्लेजुङ, सङ्खुवासभा, झापा क्षेत्र नं. ३, सुनसरी क्षेत्र नं. २

यी क्षेत्रहरूमा अन्य दलसँगको सम्भावित तालमेल वा स्थानीय प्रभावलाई हेरेर अन्तिम निर्णय लिइने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री