
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गगन थापालाई पार्टीको नयाँ सभापतिका रूपमा बधाई दिँदै परिवर्तनलाई आत्मसाथ गर्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छिन्।
शनिबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै कोइरालाले गगन थापाको नेतृत्वलाई पूर्ण समर्थन जनाएकी हुन्। नेतृ कोइरालाले मुलुक र जनताले परिवर्तन चाहेको उल्लेख गर्दै कांग्रेसभित्र आएको नेतृत्व परिवर्तनलाई डराएर नभई हाँसेर स्वागत गर्नुपर्ने बताएकी छिन्।
कोइरालाले गगन थापालाई नयाँ सभापतिको रूपमा बधाई दिँदै देश र जनताको पक्षमा काम गर्न सुझाव दिएकी छिन्। उनले भनिन्, ‘नयाँ सभापति गगन थापालाई म बधाई दिन चाहन्छु। नेपाली कांग्रेसलाई राम्ररी हाँकेर, बीपीको विचार र गिरिजाबाबुको संगठनलाई नबिर्सी तपाईं अघि बढ्नुस्।’
उनले नेतृत्व परिवर्तन अलि छिटो भएको भए पनि यसलाई स्वभाविक रूपमा लिनुपर्ने बताइन्। ‘अलि छिटो आउनुभयो, त्यति मात्र फरक हो,’ कोइरालाले भनिन्।
पार्टीभित्रको विवाद र विभाजनको हल्लालाई खण्डन गर्दै नेतृ कोइरालाले नेपाली कांग्रेस एकढिक्का रहेको दाबी गरेकी छिन्। उनले पार्टीको झन्डा र चुनाव चिन्ह यथावत रहेको भन्दै कार्यकर्तालाई विचलित नहुन आग्रह गरिन्।
नेतृ कोइरालाले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर धेरै कानूनी व्याख्या नगर्न पनि सुझाव दिएकी छिन्। उनले भनिन्, ‘कानूनको व्याख्या धेरै नगर्नुस्। अहिले मुलुकले परिवर्तन चाहेको छ, त्यो परिवर्तनलाई हामीले स्वीकार्नुपर्छ।’










प्रतिक्रिया