
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिक मान्यता प्राप्त गरेसँगै उनले आज बिहान ११:३० बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक आह्वान गरेका हुन् ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टीको संगठनात्मक सुदृढीकरण तथा आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवार चयन लगायतका विषयमा छलफल हुने बताइएको छ । सभापति थापा अहिले पार्टीको तर्फबाट चुनाव लड्ने उम्मेदवारहरू छनोट गर्न व्यस्त छन् ।
शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता प्रदान गरेको थियो । आयोगको निर्णयसँगै पार्टीको चुनाव चिह्न ‘रुख’, चारतारे झण्डा तथा सानेपास्थित केन्द्रीय कार्यालय पनि थापा पक्षलाई प्राप्त भएको छ ।
पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए । महाधिवेशनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आयोगमा आधिकारिकताको दाबी गर्दै कागजात पेस गरेको थियो ।
यसविरुद्ध शेरबहादुर देउवा पक्षले पनि आफूहरू नै बहुमत तथा वैधानिक पक्ष भएको दाबीसहित छुट्टै निवेदन दर्ता गरेको थियो । तर आयोगले राजनीतिक दल सम्बन्धी ऐन, पार्टी विधान तथा विगतका नजिरका आधारमा थापा पक्षलाई आधिकारिकता दिएको हो ।
देउवा पक्षले आयोगको निर्णयलाई अस्वीकार गर्दै विरोध प्रदर्शन गरेको छ भने थापा पक्षले यसलाई पार्टीमा नयाँ युगको सुरुवातको रूपमा लिएको छ ।








प्रतिक्रिया