
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान नहुने भएको छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार आज नयाँ नेतृत्व चयनका लागि मतदान नहुने भएको हो ।
उनका अनुसार आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।
‘अहिले साढे ७ बजेसम्म मनोनयनपत्र पूरा गराउँदैछौं । त्यसपछि हामी छलफल गरेर बाँकी प्रकियाबारे टुंग्याउँछौं,’ संयोजक केसीले भने, ‘राति नै मतदानमा जाने सोच छैन । रातभरि मतदान गर्न गह्रुँगो हुन्छ । भोलि बिहान हुन्छ होला ।’
उनले अब समय नथपिने बताउँदै परिमार्जित कार्यतालिका सार्वजनिक गरिने बताए । बुधबार बिहानबाट बाँकी कार्यक्रम अघि बढाउने निर्वाचन समिति संयोजक केसीले बताए ।
उनका अनुसार १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।
केसीका अनुसार निर्वाचनबाट २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री पनि चयन हुनेछन् । उनले खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने जानकारी दिए ।










प्रतिक्रिया