
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आइतबार राति ९ बजेसम्म कुल २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन्। यो संख्या कुल निर्धारित ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये ५६.१२ प्रतिशत हो।
नेता युवराज पाण्डेयका अनुसार नाम दर्ताको प्रक्रिया जारी रहेको र यो संख्या अझ बढ्न सक्ने सम्भावना छ। आज आइतबार महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ भने बन्द सत्र भने भोलि सोमबार बिहान १० बजेदेखि सुरु हुँदैछ।
प्रदेशगत सहभागिताको अवस्था हेर्दा कोशी प्रदेशबाट ४२५ जना, मधेश प्रदेशबाट ४४६ जना, बागमती प्रदेशबाट ४३२ जना, गण्डकी प्रदेशबाट २९६ जना, लुम्बिनी प्रदेशबाट ३९८ जना, कर्णाली प्रदेशबाट १३४ जना र सुदूरपश्चिम प्रदेशबाट १५८ जना प्रतिनिधि सहभागी भएका छन्। यसबाहेक उपत्यकाबाट १७८ जना तथा भ्रातृ संगठन, शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि उपस्थित छन्।
प्रतिनिधिहरूको नाम दर्ता तथा सहभागिताको तथ्यांक अद्यावधिक हुने क्रम जारी रहेको आयोजक पक्षले जनाएको छ।










प्रतिक्रिया