विविध कार्यक्रमसहित अर्घाखाँचीमा मनाइयो दशौं राष्ट्रिय योग दिवस

अशोक खनाल
“स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मुल नाराका साथ दशौं राष्ट्रिय योग दिवस आज अर्घाखाँचीमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी भव्य रूपमा मनाइएको छ।
२०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। यस वर्ष नेपाल सरकारको निर्णय अनुसार जिल्ला स्तरमा विविध कार्यक्रम आयोजना गरी योग दिवसलाई योगको मर्मअनुरूप सार्थक बनाइएको छ।
कार्यक्रमको मुख्य आयोजना अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कले गरेको थियो भने जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सम्पन्न भएको थियो।
योग, ध्यान र आयुर्वेदको महत्त्व वैदिककालदेखि नेपालमा रहेको भए पनि आधुनिक युगमा यसको उपेक्षा भएको थियो। तर पछिल्लो समय उपचार र शान्तिका लागि पश्चिमी देशतर्फ आकर्षित भएका नेपालीहरू पुनः योगप्रति झुकाव राख्न थालेका छन्।

संयुक्त राष्ट्रसंघले समेत योगलाई शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यका लागि महत्त्वपूर्ण विधिका रूपमा स्वीकार गरेको छ।
जिल्ला स्तरीय मुल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोईराला प्रमुख अतिथि हुनुहुन्थ्यो।

विशेष अतिथिमा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, जिल्ला प्रहरी कार्यालय प्रमुख चक्रबहादुर मल्ल, योग प्रशिक्षक पुष्पा भुसाल, राष्ट्रिय वाणिज्य बैंक शाखा प्रबन्धक गुणानिधि भुसाल, ओशो श्वामी डा. नविन पन्थी, र योग गुरु अशोक कुमार खनाललगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा योग साधना, स्वास्थ्य जाँच (जस्तै रगतमा सुगर, युरिक एसिड, तथा वात रोग परीक्षण), योग आसन, ध्यान, र प्राणायामजस्ता गतिविधि सञ्चालन गरिएका थिए।
कार्यक्रममा सहभागी अतिथि तथा योग साधकहरूले योगको नियमित अभ्यासबाट हुने फाइदाबारे जानकारी प्राप्त गरे।

कार्यक्रमको सहजीकरण योग प्रशिक्षक पुष्पा भुसालले गर्नुभएको थियो भने सञ्चालन आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्यले गर्नुभएको थियो।




























प्रतिक्रिया