
आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्य पदका लागि भएको निर्वाचनमा सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
आज सात प्रदेशका सम्बन्धित राजधानीमा तोकिएका मतदानस्थलमा निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेकोमा ३६४ मतदाता मतदानमा सहभागी भए । कोशीको निर्वाचनमा धरानका हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अनुपस्थित भए भने झापा गाउँपालिकाका जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनी पनि मतदानमा सहभागी भएनन् ।
मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७४ मतदाताले मतदान गरेका छन् ।
त्यस्तै वाग्मतीमा ३४७ मतदाता रहेकोमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना मतदानमा अनुपस्थित भए । गण्डकीमा २२९ जनाले मतदान गर्दा सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने मतदानमा सहभागी भएनन् । त्यस्तै लुम्बिनीमा ३०५ जना मतदाता रहेकोमा स्थानीय तहको दुई मत खसेन । कर्णालीमा शत प्रतिशत मतदान भएको छ । कर्णालीमा १९६ मतदाता रहेका थिए । सुदूरपश्चिममा २२६ मतदाताले मतदान गरेका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा गर्ने बताए ।










प्रतिक्रिया