बढ्यो सुक्खा चिसो, आएन हिउँदे वर्षा भित्र्याउने प्रणाली

हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । एक महिनाको अवधिमा भुइँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलका अनुसार वर्षाका लागि सक्रिय प्रणाली भित्रिन नसक्दा नेपालमा हिउँदे वर्षामा ढिलाइ भएको हो । एक महिनामा जति पनि पश्चिमी वायु नेपाल नभित्रिएर मौसम राम्रो नभएको उहाँ औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “राम्रो प्रणाली आइदिएको भए आकाशमा जमेका प्रदूषित वायु तथा तुवाँलो हटेर वर्षाका लागि वातावरण बन्थ्यो ।”

एक महिनासम्म वर्षा नहुँदा पनि हिउँदमा औसतभन्दा बढी वर्षाको सम्भावनामा कुनै असर नपर्ने मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पश्चिमी वायु नै कमजोर आइरहेकाले ढिलाइ भएको हो, यसले वर्षाको औसतमा कुनै असर गर्दैन ।” उहाँका अनुसार हिउँद महिनामा साढे दुई महिना नै वर्षा नभएर एक दुई दिन मजाले वर्षा भएमा त्यसले औसत वर्षाको आँकडा मजाले भेट्न सक्छ ।

एक महिनाअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मौसम सङ्गठनको विश्लेषण अनुसार यो हिउँदमा नेपालका अधिकांश भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो ।

वर्षा नहुँदा नेपालमा सुक्खा चिसो बढ्न थालेको छ । आद्र्रताबाहेकको चिसोले मानव स्वास्थ्यमा असर पार्न थालेको छ । वर्षा नहुँदा आकाशमा धुलो, धुवाँ र प्रदूषणका कण बढ्दै गएको छ । चिसो हावामा मिसिएर ती कण मानव शरीरमा प्रवेश गर्दा सुक्खा खोकी लाग्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन थालेको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री