मंगलबार, ११ वैशाख २०८१

भोजपुर अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अन्तिम चरणमा, यसै महिना हस्तान्तरण गर्ने गरि काम हुँदै

समयपोष्ट २०७९ माघ १५ गते १२:१२

Advertisement

भोजपुर अन्तर्राष्ट्रिय रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न भएको छ । कोदारमा २०७६ साल कात्तिकबाट निर्माण शुरु भएकामा हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।

कार्यालयका प्रमुख सुरेश शाहले रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै निर्धारित समयभित्र सम्पन्न हुने बताउनुभयो । प्रदेश नं १ सरकारको रू १४ करोड पाँच लाख लागतमा रङ्गशाला निर्माण गरिएको हो ।

सात हजार वर्गमिटरको रङ्गशालामा पाँच हजार मानिस अट्नसक्ने गरी सात वटा प्याराफिट निर्माण गरिएको छ । कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालाको दक्षिणतर्फ ८० मिटर चौडाइ, उत्तरतर्फ ५५ मिटर चौडाइ, पूर्वतर्फ एक सय दुई मिटर लम्बाइ र पश्चिमतर्फ एक सय पाँच मिटर लम्बाइ छ ।

निर्माणाधीन रङ्गशालामा प्याराफिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय तथा क्यान्टिन भवन, शौचालयलगायतका पूर्वाधारको काम सम्पन्न भइसकेको निर्माण कम्पनीले रायमाझी, मार्सेली निर्माण जेभीले जानकारी दिएको छ । सम्झौता अनुसारको सम्पूर्ण संरचना तयार गरेर हस्तान्तरणको अन्तिम चरणमा रहेको निर्माण कम्पनीका प्रमुख श्यामकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो महिनाभित्र काम सम्पन्न गरी हस्तान्तरण गरिनेछ ।

विसं २०६४ मा जिल्ला विकास समिति बोर्डले रू ५५ लाखमा जिल्ला खेलकुद परिषद्मार्फत् रङ्गशालाका लागि जग्गा खरिद गरेको थियो । जिविसले केही रकम छुट्याएर स्तरोन्नतिको काम थाले पनि बजेट अभावका कारण रोकिएको थियो ।

प्रदेश नं १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा शिलान्यास गर्नुभएको अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई र¬ङ्गशाला’को निर्माण तीव्रगतिमा भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको रू ५५ लाख र प्रदेश १ सरकारको रू एक करोड ३५ लाख लगानीमा सो रङ्गशाला निर्माण भइरहेको छ ।

यस्तै प्रदेश सरकारको योजना अन्तर्गत रू छ करोड लागतमा षडानन्द नगरपालिकामा पनि दिङ्ला रङ्गशाला निर्माण भइरहेको छ । साथै प्रदेश १ सरकारको रू ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलमैदान, रू २५ लाखमा हतुवागढी गाउँपालिका–१, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकुद रङ्गशाला निर्माण भइरहेको छ ।

पछिल्लो समय जिल्लामा धमाधम खेलकुद संचरना बनेपछि खेलाडी तथा खेलप्रेमी उत्साहित बनेका छन् । अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासीमा उत्साह थपेको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री