काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित तीन जनालाई धरौटीमा छाड्न आदेश
ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित तीन जनालाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। परियारलाई २५ हजार रुपैयाँ र निर्देशक वसन्त आचार्य तथा नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटी तिरेर पुर्पक्षका लागि छाड्ने आदेश भएको हो।
बुधबार बिहान परियार, आचार्य र ढकाल विशेष अदालतमा उपस्थित भएका थिए। सोही दिन न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनीहरूको बयान र थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि अदालतका उपरजिष्टार कृष्णशरण लामिछानेले तीनै जनालाई धरौटीमा छाड्ने आदेश भएको जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते परियार, आचार्य र ढकालसहित ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको थियो। आरोपअनुसार, समानान्तर सेवा प्रालिले ढल निर्माण ठेक्कामा सबैभन्दा कम मूल्य (करसहित १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसा) कबोल गरे पनि मिलेमतोमा सो कम्पनीलाई अयोग्य ठहर गरिएको थियो। त्यसको सट्टा दोस्रो कम कबोल (२२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा) गर्ने कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गरी महानगरपालिकालाई आर्थिक हानी पुर्याएको आरोप उनीहरूमाथि छ।
प्रतिक्रिया