मंगलबार, ४ वैशाख २०८१

महाकालीमा चार लेनको पक्की पुल, विकासमा कोसेढुङ्गा

समयपोष्ट २०७९ माघ १५ गते १०:११


कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ ।

Advertisement

पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । यो नाका सञ्चालनमा आएपछि भारतका औद्योगिक सहर सहज पहुँच हुनेछ ।

विसं २०७४ मा सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण सम्पन्न गरिसकेको छ । तीन अर्बको लगानीमा बनेको यो पुलसँगैको पहुँच मार्ग र पर्यटकका लागि चार मानव निर्मित ताल निर्माणधीन अवस्थामा छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधाराचाँदनी नगरपालिकामा चार लेनको पुल बनेको हो । सुदूरपश्चिमको मुख्य नाकाका रूपमा रहेको चार लेनको पक्की पुल त्रिदेशीय नाकाको विकास भए समृद्ध सुदूरपश्चिम बन्ने यहाँका व्यवसायी बताउँछन् ।

भारतका प्रमुख व्यापारिक सहर यहाँबाट छोटो दुरीमा पर्छन । भारतको राजधानी दिल्ली यो पुलबाट साढे तीन सय किलोमिटरको मात्रै दुरीमा छ । अझ भारतका औद्योगिक क्षेत्रहरू नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्र नेपालको पश्चिमी सीमाबाट धेरै नजिक छन् । हालसम्म प्रयोगमा आएको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण कञ्चनपुरको आर्थिक विकास र नेपाल–भारत सहज आवागमन नहुँदा यहाँका व्यवसायीले सहज रूपमा आयात निर्यात गर्न पाएका छैन । सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारी साधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायी बताउँछन ।

महाकाली नदीमा पुल निमार्ण सम्पन्न भइसकेको र सुख्खा बन्दरगाह निमार्णको काम पनि अघि बढिसकेकाले सुदूरपश्चिमले व्यापारिक फड्को मार्ने ठूलो अवसर आएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष मावध जोशीले बताउनुभयो । उहाँले हाल प्रयोगमा आएको शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुला हुने र त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएका कारण अहिलको पुलबाट भारत निर्यात हुने कच्चा पदार्थ निर्यात र भारतमा उत्पादित वस्तु आयात गर्न लामो बाटो घुमाएर ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

“महाकालीमा बनेको पुल र सुख्खा बन्दरगाह सञ्चालनमा आए हाम्रो उत्पादनले विश्व बजारसंग प्रतिस्पर्धा गर्न सहज हुन्छ ।”, उहाँले भन्नुभयो, “यो सँगै तेस्रो मुलुकसँगको व्यापारको ढोका खुल्छ जसका कारण यहाँ हरेक किसिमका व्यापार व्यवसाय फष्टाउछन् ।” उहाँले पश्चिमी नाका सुचारु भए मात्रै यहाँको विकासको ढोका खुल्ने बताउनुभयो । व्यवसाय मात्रै नभई पर्यटनको ठूलो सम्भावना बोकेको सुदूरपश्चिमलाई शारदा ब्यारेजमा सहज आवागमन नहुनुले पनि प्रभाव पारेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । भारतको राजधानी दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल यहाँबाट तीन सय ५० किमिको दूरीमा रहेको छ । जसका कारण यो नाकाबाट आउने तेस्रो मुलुकबाट आउने पर्यटकका लागि सहज वातावरण नहुँदा पर्यटकको ठूलो सम्भावनासमेत गुमेको कञ्चनपुर होटेल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्टले बताउनुभयो ।

उहाँले सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भए पनि नाकाको असहजताकै कारणले यहाँको पर्यटन फष्टाउन नसकेको बताउनुभयो । “महाकालीमा पुल बनिसक्यो अब यो नाकाबाट तेस्रो मुलुकका पर्यटक सहज रुपमा आउन जान सक्छन् ।” उहाँले भन्नुभयो, “महाकाली नदी आफैँमा पर्यटकीय गन्तव्य बन्न यहाँ होटेल खुल्छन् र आर्थिक गतिविधि बढ्नेछन् ।” उहाँले भारतसँग व्यापारिक मात्रै नभई धार्मिक सम्बन्धसमेत रहेकाले धार्मिक पर्यटनका हिसाबले महाकाली पुलले ठूलो टेवा पुग्ने बताउनुभयो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल महाकाली पुल र सुख्खा बन्दरगाह यहाँको विकासका लागि कोसेढुङ्गा सावित हुने बताउनुहुन्छ । “यो नाका सुचारु भए भारतका औद्योगिक सहरबाट कम लागतमा वस्तु आयात गर्न सकिन्छ ।” उहाँले भन्नुभयो, “नेपालमा उत्पादित वस्तुले पनि विश्वबजारमा प्रतिस्पर्धा गर्ने बाटो खुल्छ, व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा ठूलो टेवा पुग्छ ।” उहाँले यो नाका सुचारु भएपछि भारतका ठूला औद्योगिक सरहसँग नेपालको सिधा सम्पर्क हुने बताउनुभयो ।

सुख्खा बन्दरगाह निमार्णसँगै पश्चिममी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने भए पनि नेपालले भने त्यसको पूर्वतयारीमा बस्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गाकर्ण अवस्थीले बताउनुभयो । “यो नाक सुचारु भए नेपाल भारतको सहज आवागमन हुन्छ लामो दुरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ ।” उहाँले भन्नुभयो, “यहाँ औद्योगिक र कृषिको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउछ ।”

दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको निर्देशक अवस्थी बताउँछन् । “बन्दरगाहको काम सुरु भइसकेको छ अब हामीले त्यहाबाट आयात मात्रै गर्ने की निर्यात पनि गर्ने यसको पूर्व तयारीमा लाग्न जरुरी छ ।” उहाँले भन्नुभयो–“यहाँका उत्पादनहरु निर्यात गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी छ ।” अर्कोतर्फ नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेकाले धार्मिक पर्यटनको विकास हुने उहाँले बताउनुभयो ।

सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यहाँका हरेक पालिकामा औद्योगिक क्षेत्रमा लागि जग्गा छुट्याउनुपर्ने र सरकारले कृषिमा बढी लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । महाकाली नदीमा चार लेनको पुल निर्माणको काम सम्पन्न भइसकेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । पुलको छेउमै पर्यटकका लागि मानव निर्मित ताल निमार्ण निर्माणधीन अवस्थामा छ ।

महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले महाकाली नदीमा चारलेनको पुल निमार्णको काम सम्पन्न भएको बताउनुभयो । “पुलसँगै निर्माण भएका पहुँच मार्ग पनि कालोपत्रे भइसकेको छ ।” उहाँले भन्नुभयो, “पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।” उहाँका अनुसार पुलको उत्तरपट्टी एक वर्गकिलो मिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ ० दशमलव तीन वर्ग किलोमिटरका दुई गरी चार पोखरी निर्माण हुँदैछ । अहिले पोखरीका लागि बाँध बाध्ने काम भइरहेको छ ।

“पोखरीको बीचमा तीन÷तीन टापु बन्छन् त्यहाँ डुङ्गा चढेर आउन जान सकिनेछ ।” उहाँले भन्नुभयो, “यहाँ पर्यटकको लागि आकर्षण गन्तव्य बन्नेछ ।” तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी चैत्रभित्र सक्नेगरी निर्माण अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री