शुक्रबार, १४ वैशाख २०८१

प्रत्यारोपण केन्द्र र पुकारजस्ता डाक्टरको कारण स्वास्थ्य क्षेत्रमा जनताको विश्वास बढ्दै गएको छ : प्रधानमन्त्री प्रचण्ड

समयपोष्ट २०७९ माघ ६ गते १२:१२

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १ हजार मृगौला प्रत्यारोपण गर्न सफल शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रको कारण स्वास्थ्य क्षेत्रप्रति आम जनताको विश्वास बढ्दै गएको बताएका छन् ।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित प्रत्यारोपितहरुको बृहत भेलालाई संबोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘१० वर्षमा १ हजार जनाको त्यसमा पनि ९९ प्रतिशत सफल प्रत्यारोपण गर्न सक्नु आफैमा राष्ट्रिय रेकर्र्ड हो, उनले भने ‘प्रत्यारोपण केन्द्र र पुकारजस्ता डाक्टरको कारण स्वास्थ्य क्षेत्रमा आम जनताको विश्वास बढ्दै गएको छ, यसको लागि बधाई तथा धन्यवाद दिन चाहन्छु ।’

उनले केन्द्रको सेवा बिस्तारको लागि आफु अघिल्लो पटक प्रधानमन्त्री हुँदा दिने निर्णय गरेको ९९ रोपनी जग्गा यस पटक दिलाएरै छाड्ने प्रतिबद्धता जनाए । ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु।’ उनले भने ‘यस पटक त्यो निर्णय लागू गराउने प्रतिबद्धता यहाँहरु माझ ब्यक्त गर्दछु ।’

उनले अंग प्रत्यारोपणलाई दशभर तत्काल विस्तार गर्न र केन्द्रलाई प्रतिस्ठानको रुपमा अघि बढाउन आफ्नो पूर्ण सहयोग र समर्थन रहने बताए । ‘अव यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन । यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ । साथै सातवटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यकपर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईंहरूको मागप्रति गम्भीर छु ।’

प्रधानमन्त्री प्रचण्डले आफु नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रमा पनि क्रान्ति ल्याउने बताए । ‘यो सरकार स्वास्थ्य क्षेत्रमा पिडित तथा गरिवको पक्षमा उभिन्छ’ उनले भने ‘स्वास्थ्य क्षेत्रमा पनि यो पटक सानोतिनो क्रान्ति ल्याउने इच्छा छ ।’

कार्यक्रमलाई संबोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले अव पैसा नभएर कुनै पनि विरामीले अस्पतालको छतबाट हाम फालेर मर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । शहिद धर्मझत्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षमा १ हजार जनाको मृगौला प्रत्यारोपण गर्न सफल भएकोमा केन्द्रको प्रसंशा गर्दै उनले भने ‘यो राष्ट्रको लागि ठुलो कुरा हो, म शिर निहुराएर सम्मान गर्न चाहन्छु ।’

बागमति प्रदेशमा पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले उपचारमा उपकरण भन्दा जनशक्ति महत्वपूर्ण हुने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव डा. रोशन पोखरेलले अंग प्रत्यारोपणमा महत्वपूर्ण भुमिका खेलेको भन्दै केन्द्र र डा. पुकारको प्रसंशा गरे ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले जटिल तथा कठिन चुनौतिको सामना गर्दै अन्तराष्ट्रिय स्तरको सेवा दिन पाउँदा गौरवान्वित भएको बताए । ‘जटिल र कठिन परिस्थितिका बाबजुत पनि हामी यति सफल भयौं भनेर मलाई अझै पनि बिश्वास लागेको छैन, उनले भने ‘अहिले बिदेशी नागरिक पनि प्रत्यारोपण गर्न आउँदा केन्द्रप्रति आम नागरिकको बिश्वास बढ्दै गएको आभास हुन थालेको छ ।

कार्यक्रमा अंग प्रत्यारोपित झमक श्रेष्ठ र सुश्रीता थापामगरले अंग प्रत्पारोपणलाई अझ सहज र सुलभ बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका थिए । उनीहरुलाई डा. पुकारचन्द्र श्रेष्ठले अंगदान कार्ड हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री