
कोरोना महामारीको तेस्रो लहर फैलँदै गएपछि सरकारले नियन्त्रणका लागि मापदण्ड बनायो। भौतिक रूपमा बढीमा २५ जना मात्रै सहभागी हुन पाउने नियम सरकारले सार्वजनिक गर्यो । पुस ३० गतेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयको एक/एकप्रति सबै स्थानीय तह र सेवाग्राहीको चाप हुने कार्यालयमा पठायो। तर, संघीय राजधानीका सरकारी कार्यालयकै अवस्थालाई नियाल्दा निर्णयको कुनै बुँदा पनि लागू नभएको प्रष्ट देखिन्छ।
मंगलबार बिहान साढे ११ बजे यातायात कार्यालय चाबहिलमा देखिएको दृश्यले सरकारको निर्णयलाई गिज्याइरहेको भेटियो। सेवा भ्रदगोल त थियो नै, भीडलाई व्यवस्थित गर्नु त परको कुरा, न त्यहाँ खोपकार्ड अनिवार्य थियो, नत २५ जनाको मापदण्ड नै। सेवाग्राहीलाई सेवा लिने चिन्ता, कर्मचारीलाई सेवाग्राहीको काम सक्ने। यो अव्यवस्थित दृश्यले कोरोना संक्रमण फैलिएको र सरकारले बनाएको नियमलाई बिस्र्याउँथ्यो।
खोप नलगाएका मात्रै होइन, मास्कलाई सही तरिकाले प्रयोग नगरेका सेवाग्राहीको चाप धेरै थियो। त्यहीँ भीडमा भेटिए काठमाडौंका २३ वर्षीय प्रवीण मगर। उनी कसरी मोटरसाइकलको लाइसेन्स बनाउने भन्ने बारेमा बुझ्न पुगेका थिए। ‘लाइसेन्स कसरी निकाल्ने ? थाहा छैन त्यही बुझ्न आएको हुँ’, उनले भने, ‘यहाँ त धेरै भीड छ। फेरि मैले खोप पनि लगाएको छैन। यहाँ आउनु त झनै डरमर्दो रहेछ।’ यस्तै हो भने दिनदिनै कोरोना घट्ने होइन, संक्रमण अझै बढ्दै जाने उनी बताउँछन्।
यातायात विभागको सर्भर डाउन हुँदा मंगलबार अरू दिनभन्दा सेवाग्राहीको भीड बढेको कार्यालयको भनाइ थियो। बिहानैदेखि लाइन बसेका सेवाग्राही अक्रोसित बनेका थिए। स्कुटरको लाइसेन्स निकाल्न प्रयोगात्मक परीक्षा दिन पुगेकी सेवाग्राही सरस्वती सिङ्देल कार्यालय प्रमुखको कार्यकक्षमा गुनासो पोख्दै रोइन्। उनी परीक्षा दिन ट्रायल सेन्टरमा पुगेकी थिइन्। लाइन लागेर बल्ल उनको पालो आएको थियो तर, प्रवेशपत्र उनको साथमा थिएन। सर्भर नचलेकाले उनले प्रवेशपत्र पाइनन्। उनलाई कर्मचारीले फर्काइदिएका रहेछन्। त्यसपछि कार्यालय प्रमुखको कार्यकक्षमा पुगेकी रहेछिन्। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा यो समाचार छ ।









प्रतिक्रिया