
कर्जा प्रवाहमा आक्रामक देखिएका बैंकहरूको निक्षेप संकलनमा भने अपेक्षाकृत सुधार हुन सकेको छैन। कर्जा ४ खर्ब २२ अर्ब १७ करोड थप वृद्धि हुँदा निक्षेप संकलन भने १ खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ मात्रै वृद्धि भएको छ।
नेपाल बैंकर्स संघले सोमबार यो तथ्यांक सार्वजनिक गरेको हो। २७ वाणिज्य बैंकले चालू आवको पुससम्म ४३ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ निक्षेप संकलन गरेका छन्। यो असारको तुलनामा २.९३ प्रतिशतले मात्रै बढी हो। तर कर्जाको वृद्धि अधिक छ। पुससम्म ४१ खर्ब ४२ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। असारको तुलनामा यो ११.३५ प्रतिशतले बढी हो।
कर्जा वृद्धिको अनुपातमा बैंकले स्रोत अर्थात् निक्षेप बढाउन सकेका छैनन्। राष्ट्र बैंकले चालू वर्ष कर्जा वृद्धिदर २० प्रतिशतसम्म तोकेको छ। निक्षेप बढ्न नसक्दा लगानीयोग्य पुँजी अभाव (तरलता समस्या) को स्थिति आएको बैंकविज्ञ अनलराज भट्टराई बताउँछन्।
नेपालमा खपत हुनेभन्दा बढी वस्तु आयात भएकाले अनौपचारिक अर्थतन्त्र फस्टाएको हो कि भन्ने आशंका गर्न सकिने उनको भनाइ छ। ‘कोभिडका कारण करिब दुई वर्ष कारोबार नहुँदा असारदेखि उपभोक्ताको माग ह्वात्तै बढ्यो। बैंकको निक्षेप घट्यो। धेरै कर्जा वस्तु आयातमै गयो,’ उनले भने, ‘तर पनि बैंकहरू स्रोतको जोहोमा कमजोर देखिए।’ बैंकहरू आन्तरिक स्रोतको मात्रै भर परेको उनको ठहर छ। ‘प्रत्यक्ष वैदेशिक लगानीजस्ता बाह्य स्रोत जोहोमा अझै कमजोर देखिएका छन्। यद्यपि कोभिडले शिथिल भएको अर्थतन्त्र उठ्न खोज्दा बैंंकमा तरलता दबाबको स्थिति देखिनु सामान्य पनि हो,’ उनले थपे। राष्ट्र बैंकले कर्जा निक्षेप अनुपातको सीमा ९० प्रतिशत तोकेको छ। अहिले बैंकहरू सोही सीमामा छन्। जसले थप कर्जा दिने क्षमता केही बैंकबाहेक अरूको छैन। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा यो समाचार छ ।









प्रतिक्रिया