आइतबार, २३ वैशाख २०८१

२ अर्ब नाघ्यो ग्लोबल आइएमई बैंकको खुद नाफा

समयपोष्ट २०७७ माघ १५ गते १०:०८

Advertisement

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सवा २ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँ अर्थात ३७.३२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बढेर ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ८६ करोड ८६ लाख रुपैयाँ बढेर ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

Advertisement

पुस मसान्तसम्ममा २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा १ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ८ अर्ब १७ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ६७ करोड रुपैयाँ थियो।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ रुपैयाँ ७७ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २१ रुपैयाँ ४० पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.८४ गुणा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ खर्ब ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब ९० अर्ब ३३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढाएसँगै बैंकको निष्क्रिय कर्जामा पनि सामान्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.२० प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य बढेर १.७२ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको आधार दर ९.६४ प्रतिशतबाट ६.७६ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.३१ प्रतिशतबाट ४.६९ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री