शुक्रबार, ७ वैशाख २०८१

नेपाललाई १० लाख डोज कोभिड–१९ खोप भारतको उपहार

समयपोष्ट २०७७ माघ ८ गते २२:५२

Advertisement

भारत सरकारले नेपालको स्वास्थ्य सेवा तथा अग्रपंक्तिमा खटिएका कर्मचारीहरुको तत्कालआवश्यकताको लागि आज नेपाललाई भारतमा उत्पादित १० लाख कोभिड–१९ खोप उपहार स्वरुप प्रदान गरेको छ ।

उक्त खोप नेपाल सरकारको आग्रहमा भारतले उपलब्ध गराएको हो । माघ २ गते भारतको नयाँ दिल्लीमा दुई राष्ट्रका परराष्ट्रमन्त्रीको अध्यक्षतामा सम्पन्न भारत–नेपाल संयुक्त आयोगको छैटौं बैठकमा यस सहकार्यबारे पनि छलफल भएको थियो । उक्त खोप आज बिहान विमानस्थलमा आए लगत्तै राजदूत विनय मोहन क्वात्रा र स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले ग्रहण गर्नुभएको थियो । राजदूत क्वात्राले खोपको आगमनले कोभिड–१९ को अन्त्यको सुरुवात हुने आशा व्यक्त गर्दै भाइरसलाई परास्त गर्न नेपालका जनताले चालेका प्रयासमा भारत कटिबद्ध रहेको दोहोर्याउनु भयो ।

स्वास्थ्यमन्त्री त्रिपाठीले दुवै देशमा एक साथै खोप वितरण गर्नका लागि नेपालमा पनि समयमै उपलब्ध गराइएको बताउनुभयो । आज दिउँसो प्रधानमन्त्री कार्यलयमा आयोजित एक समारोहमा राजदूत विनय मोहन क्वात्राले कोरोना विरुद्धको खोपको १० लाख डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रुपमा हस्तान्तरण गर्नुभयो ।

सो खोप भारतका जनताले नेपालका जनतालाई उपहार स्वरुप उपलब्ध गराएको बताउदै राजदूत क्वात्राले नेपालले अघि सारेको खोप अभियानका लागि शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप अनुदान स्वरुप उपलब्ध गराएकोमा भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिँदै यस्ता उपहार सधैँ विशेष हुने र संकटको घडीमा उपहारको रुपमा खोप उपलब्ध गराउनुले पनि यसको थप महत्व रहेको बताउनुभयो । यस अघि भारतले खोप वितरण, खोप सम्बन्धि प्रशासनिक एवम् संचालनका पक्ष, कोल्ड चेन र सम्पर्क तथा तथ्यांक व्यवस्थापनका लागि मानव संसाधन तालिम दिएको थियो ।

नेपालमा यस्ता खोपको नि:शुल्क वितरणले महामारी विरुद्ध मानवताको लडाईलाई सघाउ पुर्याउन भारतको खोप उत्पादन तथा वितरण क्षमतालाई प्रयोग गर्ने प्रधानमन्त्री नरेन्द्र मोदिको प्रतिबद्धतालाई पूर्णता दिएको बताईएको छ ।

‘छिमेकी पहिलो’ नीति अनुरुप भारतले नेपाललाई उक्त सहयोग अघि बढाएको हो । महामारीको सुरु भए यता भारतले नेपाललाई हाइड्रोक्लोरोक्वीन, आरटी पीसीआर परीक्षण किट, आइसीयु भेन्टिलेटर, रेमडेसिभिर औषधी र एम्बुलेन्स उपलब्ध गराई निरन्तर सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री