गाउँमै उत्पादन हुँन थाल्यो सुगन्धित तेल, तेल बेचेर खर्चको जोहो गर्दै बिद्यार्थी
कञ्चनपुरस्थित लालझाडी गाउँपालिकाले आयोजना गरेको दुईदिने अपाङ्गता तथा समावेशी विकास गोष्ठीका सहभागीले उपलब्ध भत्ता बेमौसमी तरकारी नर्सरी तयार गर्न खर्च गर्ने निर्णय गरेका छन् ।
समावेशी योजना छनोट गर्नका लागि एनएलआर नेपालको सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघको समन्वयमा गाउँपालिकाले आयोजना गरेको गोष्ठीका सहभागीले भत्ताको रकम विपन्न वर्गका समुदायलाई आर्थिक कार्यमा सहभागी गराउनका लागि उपलब्ध गराएका हुन् । सहयोगी संस्थाले गोष्ठीमा सहभागीलाई दुई दिनको रु एक हजारका दरले भत्ताको रकम उपलब्ध गराएको थियो ।
गोष्ठीकै सहभागीले भत्ताको रकमबाट गाउँपालिकामा केही कार्य गरेर देखाउनुपर्ने आवाज उठाएपछि सहभागीले भत्ताको रकम जम्मा गरेको कृषि शाखाका प्रमुख एकराज वलीले बताए ।
गाउँपालिका अध्यक्ष मदनसेन वडायकले भत्ताको पूरै रकम सामाजिक हितका लागि योगदान दिने घोषणा गरेपछि सहभागीमध्ये अधिकांशले भत्ता नलिएको उनले बताए । “भत्ताबाट संकलित रु १२ हजारले प्लास्टिक टनेल बनाई बेमौसमी तरकारीको नर्सरी तयार गरी किसानलाई बेर्ना उपलब्ध गराउने निर्णय प्राविधिक समितिले गरेको छ”, उनले भने।
भत्ताको रकममा कृषि शाखाको केही रकम थपेर नर्सरी तयार गरी किसानलाई उन्नत जातका बेमौसमी तरकारीका बिरुवा उपलब्ध गराई तरकारी खेतीतर्फ आकर्षण बढाउने उनको भनाइ रहेको छ । बेमौसमी तरकारीको नर्सरी कसरी तयार गर्ने र खेतमा रोपेर आम्दानी लिने तरिकाबारे किसानलाई तालिमसमेत दिने योजना कृषि शाखाको रहेको छ ।
“भत्ताको रकम नलिएर समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश यस गोष्ठीका माध्यमबाट दिन खोेजेका छौँ”, गाउँपालिका अध्यक्ष वडायकले भने, “समाजमा पछाडि परेका समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि यस्ता कार्यले सहयोग पु¥याउँछ ।”
भत्ताको रकम सामाजिक कार्यका लागि खर्च गर्ने जिल्लामै पहिलो कार्य भएको गोष्ठीका सहभागी राजीव अवस्थीले बताए । गाउँपालिकाको समावेशी योजना संकलन गर्नका लागि गोष्ठी आयोजना गरिएको थियो ।
जडीबुटी प्रशोधन उद्योगले गाउँमै रोजगारी
शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका सपना शाह विद्यालबाट फर्केपछि सधैँ घर नजिकैको सामुदायिक वनबाट असारेका पात संकलन गर्छिन् ।
असारेका भारी जडीबुटी प्रशोधन केन्द्रमा ल्याएपछि प्रशोधन गरी तेल निकाल्ने कार्यमा सक्रियरुपमा लाग्छिन् । प्रशोधन केन्द्रमा असारेको तेल निकालेर उनले बिक्री गरी पढाइ खर्च चलाउँदै आएकी छिन् ।
हालसम्म दुई लिटर तेल बेचेर शाहले रु आठ हजार कमाउँछिन् । उनी भन्छिन् , “तेल बेचेको पैसाले पढाइ खर्च चलेको छ, साइकल बिग्रेपछि मर्मत गर्न पुगेको छ, कापी कलम किन्न पुगेको छ ।”
शाहसँगै उनका साथीहरु पूजा बोहरा, पूजा टमटा र दीपा धामीले पनि असारेलगायतका जडीबुटी बेचेर आफ्नो पढाइ खर्च जुटाउने गरेका छन् । उनीहरु सबै झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सिर्जना जडीबुटी समूहमा आबद्ध पूजाले तीनकट्ठा जग्गामा परिवारसँग मिलेर मेन्था लगाएका छन् ।
यसअघि उनले केमामाइलको खेती गरी त्यसको तेल बेचेर रु छ हजार कमाएकी थिईन् । परिवारको खर्चसँगै पढाइ खर्च आफैँ जुटाउँदै आएको उनले बताईन् । बेल्डाँडीमा गत वर्षदेखि खोलिएको प्रगति महिला जडीबुटी प्रशोधन उद्योगले विद्यार्थीसहित स्थानीयवासीले गाउँमा आम्दानी गरिरहेका छन् ।
उद्योग सञ्चालक समितिका कोषाध्यक्ष कमला साउद भन्छिन् , “उद्योग खुलेपछि गाउँलेले घर खर्च चलाएका छन्, विद्यार्थीले पढाइ खर्च जुटाएका छन्, यसले फाइदा नै भएको छ ।” असारेको तेल प्रतिकिलो रु ३० हजार बढीमा बिक्री हुने गरेको छ । प्रगति सामुदायिक वनसित साझेदारीमा गत वर्ष दातृ निकायको सहयोगमा उद्योग सञ्चालन गरिएको हो ।
दातृ निकायको रु पाँच लाख, परियोजना घुम्ती कोषको रु एक लाख र सामुदायिक वनको रु तीन लाख लगानीमा उद्योग चलेको छ । असारे, मेन्था र केमाबाट सुगन्धित तेल उत्पादन गर्न सकिने सुनेका स्थानीयवासी उद्योग स्थापना गर्नका लागि आर्थिक स्रोत नभएका बेला दातृ निकायले सहयोग गरेपछि उद्योग स्थापना गर्न सफल भएका हुन् ।
“सामुदायिक वनमा असारे प्रशस्त भएकाले आम्दानी पनि गतिलो नै छ,” साउदले भन्नुभयो, “असारे पेलेर शुरु गरिएको उद्योगबाट अहिले मेन्था, केमाइल र लिप्टिसको तेल पनि उत्पादन हुने भएकाले आम्दानी बढ्दै गएको छ ।” केमा र मेन्थाखेतीका लागि स्थानीयवासीले चार समूह बनाएका छन् ।
समूहका सदस्यले तेल बेचेर हालसम्म रु दुई लाख १६ हजार आम्दानी गरेका छन् । एक समूहका सदस्यले कम्तीमा २० हजारभन्दा बढी आम्दानी गरेका छन् । स्थानीयवासीले उत्पादन गरेको तेल स्थानीय वीरबहादुर ऐरले किनेर नेपालगञ्ज पु¥याई अर्का व्यापारीलाई बेच्ने गरेका छन् । नेपालगञ्जका व्यापारीले यहाँको तेल विदेश निर्यात गर्दै आएका छन् ।
स्थानीय जडीबुटी उद्योगमा संलग्नका अनुसार विगतमा काठमाडौँ र नेपालगञ्जका व्यवसायीले आएर तेल सस्तोमै किनेर लैजाने गरेका थिए । स्थानीयवासीले नै तेल किनेर उचित मूल्य दिन थालेपछि जडीबुटीखेतीमा यहाँका बासिन्दाको आकर्षण बढ्न थालेको छ । स्थानीय मैना बोहराले उद्योग खुलेपछि घर खर्च चलाउन सहयोग पुगेको बताईन् ।
उद्योगमा सेटिङ हाउस निर्माण, प्राविधिक कर्मचारीलगायतका जनशक्ति बढाउन पाए अझै बढी आम्दानी लिन सकिने उनले बताईन् । अन्न नफल्ने बाँझो खेतमा जडीबुटीखेती राम्ररी सप्रने र जंगली जनावरले जडीबुटीलाई नखाने भएपछि स्थानीयवासीको यसप्रतिको मोह बढ्दै गएको छ ।
रासस
सम्बन्धित सामाग्री
समयबोध मिडियाद्वारा प्रकाशित
सम्पादकलेखनाथ न्यौपाने
सम्पादन संयोजन
प्रमिला बानियाँ
उप-सम्पादक
अशोक खनाल
रोशन अधिकारी (अमेरिका)
रमेश पोखरेल
बजार प्रतिनिधी
दीपक खनाल
प्रतिक्रिया