सोमबार, १२ असोज २०७७

जुनसुकै हालतमा पनि टीकापुर विमानस्थल सञ्चालनमा ल्याईन्छ : मन्त्री भट्टराई

समयपोष्ट २०७६ माघ १४ गते १९:२१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कसैका लागि पनि प्रयोगशाला नबन्ने बताउनुभएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव’मा उहाँले भन्नुभयो, “नेपाललाई सधैँ प्रयोगशाला बनाइनु हुँदैन । नेपाल कसैका लागि प्रयोगशाला बन्दैन ।”

उहाँले देशको समृद्धिका निम्ति सबै राजनीतिक दल एक ढिक्का भई अगाडि बढ्नुपर्ने भन्दै कुनै पनि बहानामा देशलाई पुनः अशान्ति र द्वन्द्वतिर नलान आग्रह गर्नुभयो । मन्त्री भट्टराईले भन्नुभयो, “देशको समृद्धि र हितका निम्ति हामी सबै एकताबद्ध छौँ । देश र जनताको अहित हुनेमा कुनै पनि दातृ निकायसँग हाम्रो सम्झौता हुनसक्दैन ।”

Advertisement

मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेश आफैँमा महत्वपूर्ण र ऐतिहासिक प्रदेशको रूपमा रहेको बताउँदै सुदूरपश्चिम प्रदेशले समग्र नेपाललाई समेटेको बताउनुभयो । “सुदूरपश्चिम प्रदेशले समग्र नेपाललाई समेटेको छ । नेपालले हिमाल, पहाड, तराईलाई समेटेझैँ सुदूरपश्चिम प्रदेशले तीनै क्षेत्रलाई समेटेको छ । यसले सुदूरपश्चिमको मौलिकता झल्काउछ”, उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले टीकापुर विमानस्थल सुचारु गर्न सङ्घले माग गरेको एकसुत्रीय मागपत्र ग्रहण गर्दै जुनसुकै हालतमा पनि टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनका लागि छिमेकी स्थानीय तहले समेत सहकार्य गर्न कुरा गरेकोमा धन्यवाद दिँदै केही दिनभित्रै प्राविधिक टोलीमार्फत विमानस्थलको अध्ययन गरी आवश्यक काम अगाडि बढाइने बताउनुभयो ।

मन्त्री भट्टराईले सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउँदै आएकोमा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आन्तरिक तथा बाह्य पर्यटकका लागि सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको गुरुयोजना तयार पारी सङ्घीय सरकारसँग समन्वय गर्न आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री