शुक्रबार, २ साउन २०८२

‘इसेवा फोन पे’ १० औं वर्षमा, सेवा लिनेको सख्या ७५ लाख भन्दा बढी

समयपोष्ट २०७५ माघ ११ गते १५:४९

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे’ १० औं वर्षमा प्रवेश गरेको छ । इसेवाले २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको थियो । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवा एक दशकको अवधिमा मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । साथै मानिसलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झञ्जटबाट मुक्ति दिएको छ ।

हाल इसेवाका देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् भने प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

‘ मोबाईललाई कुराकानी गर्ने माध्यमबाट शुल्क भुक्तानी र किनमेल गर्ने साधनका रूपमा स्थापित गर्न सफल भएका छौँ । मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याएर आम मानिसको दैनिक जनजीवन सहज बनाउने कार्य हामीले सुरूवात गरेकोमा हामी गौरवान्वित बनेका छौँ ’, कम्पनीका अध्यक्ष विश्वास ढकालले भने ।

नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा इसेवाको उपस्थिती रहेको र विकट क्षेत्रहरुमा इसेवाले अझ सहजता ल्याएको ढकालले बताए । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री